गाईघाट- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने जनाएका छन् ।
आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको उल्लेख गरे ।
उनले अहिले सक्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र संघीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाव दिए ।
उनले कांग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने जनाए ।
नेता पौडेलले वर्तमान सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले विकासमा छिटो फड्को मार्ने सरकारलाई सुझाव पनि दिए ।


















