भारतीय महिला लिगमा सावित्राको लगातार तेस्रो खेलमा गोल

216

काठमाडौं / भारतीय महिला लिगमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले लगातार तेस्रो खेलमा गोल गर्न सफल भएकी छिन् ।

सेथु एफसीकी खेलाडी सावित्राले शुक्रबार साइ कुटारविरुद्ध गोल गरेकी हुन्। उनले खेलको ८१ मिनेटमा गोल गरेकी थिइन्। यसअघि सावित्राले मनिपुर पुलिस स्पोर्ट्स क्लबविरुद्ध ४ गोल र बैंग्लोर युनाइटेड एफसीविरुद्ध १ गोल गरेकी थिइन्।

शुक्रबार भएको खेलमा सेथुले ९–० को फराकिलो अन्तरको जित हात हासिल ग्¥यो । खेलमा सेथुकी रतनबाला देवीले ह्याट्रिक गरेकी थिइन् भने सन्ध्याले २ गोल गरिन्। इन्दुमती र ग्रेसले १–१ गोल गर्दा सुभ पात्राले आत्मघाती गोल गरेकी थिइन्।

जारी लिगमा सेथुको यो लगातार तेस्रो जित हो। बैंग्लोरविरुद्धको अघिल्लो खेलमा नेपालकी अर्की मिडफिल्डर मिडफिल्डर अनिता बस्नेतले डेब्यू गरेकी थिइन्। दोस्रो हाफमा मैदान छिरेकी अनिताले खेलको ७० मिनेटमा गोल गर्दै यादगार डेब्यू गरेका थिइन्। खेलमा सेथुले बैंग्लोरलाई ३–० ले हराएको थियो। समूह बीमा शीर्ष स्थान रहेको सेथुले पहिलो खेलमा मनिपुरलाई ६–४ ले हराएको थियो।

हिरो भारतीय महिला लिग खेल्नका लागि सावित्रा र अनिता गत महिना सेथुमा आबद्ध भएका थिए। तामिल नाडुको यो क्लब गत सिजनमा सेमिफाइनलसम्म पुगेको थियो। लिगमा दुई समूहमा प्रतिस्पर्धा हुँदैछ। सावित्रा र अनिता आबद्ध सेथु समूह बीमा छ। जहाँ सेथुसहित बैंग्लोर युनाइटेड, बरोडा एफसी, सीआरपीएफ एफसी, कोल्हापुर, मनिपुर पुलिस र कुटाक छन्। लिगका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे २२ मा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here