कम्बोडियालीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री ओली

95

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट रहेको जनाउनुभएको छ ।

प्रधानमन्त्रीले पूर्वाधरलगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सार्वजनिक– निजी साझेदारी र लगानी ऐन लागू गरिएको बताउँदै नेपालमा लगानीकर्तालाई सहजताका लागि सरल र सहज विधि एवं प्रक्रिया रहेको तथा भारत र चीनजस्ता ठूला बजार यससँग जोडिएको जानकारी दिनुभयो।

नेपाल सार्क र बिम्स्टेकजस्ता दुई ठूला क्षेत्रीय सङ्गठनको सक्रिय सदस्य रहेको र अल्पविकसित मुलुक हुनाको नाताले क्षेत्रीय बजार पहुँचका लागि केही निश्चित फाइदा रहेको उहाँले उल्लेख गर्नुभयो । ‘नेपालको जुनसुकै क्षेत्र पनि लगानीका लागि निश्चित प्रतिफल पाइने क्षेत्र हो । कृषि, खनिज स्रोत, जडीबुटी, पर्यटन उद्योग र वित्तीय बजारजस्ता क्षेत्रमा लगानीका लागि अवसरहरु छन्’, प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालले हालै लगानी सम्मेलन गरेको र त्यसमा ४० राष्ट्रका प्रतिनिधि सहभागी भई ठूला १८ परियोजनामा वित्तीय लगानी गर्न प्रतिबद्धता आएको जानकारी उहाँले दिनुभयो । उहाँले बौद्धमार्गी भएको नाताले कम्बोडियालीले शाक्यमुनि गौतमबुद्धको जन्मस्थल र बौद्धदर्शनको मुहान लुम्बिनीमा भ्रमण गर्न सक्ने औँल्याउँदै सोही स्थलमा अन्तर्राष्ट्रिय वैशाख दिवस मनाउन सम्बन्धित निकायहरुमा परामर्श गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री सामदेक हुन सेनलाई हाम्रो प्रयासमा सहयोग गर्न र आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न आग्रह गर्दछु ।’ नेपालले कम्बोडियाको तीव्र आर्थिक विकास र समृद्धितिरको निरन्तर यात्राबाट धेरै कुरा सिक्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कम्बोडियालीलाई नेपालमा लगानी गर्न आग्रह

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले विदेशमा लगानी गरिरहेका कम्बोडियाका उद्योगपति र व्यवसायी समूहहरुलाई नेपाललाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले कम्बोडियामा लगानीका लागि नेपाली लगानीकर्तालाई उपयुक्त वातावरण सिर्जना गरिने विश्वास दिलाउँदै कम्बोडियालीहरुलाई नेपाल, विशेषगरी लुम्बिनीमा भ्रमण गर्न अनुरोध गर्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here