काठमाडौं / अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको नेपाली समाजसँग प्रत्यक्ष संवादप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश दिएका थिए ।
त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकर बैरागी त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै भने- ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’परराष्ट्रसँग सहमति नलिएको भन्नेबारे प्रश्न गर्दा दूतावासकी प्रवक्ता एन्डी डे अरमेन्टले भनिन्, ‘पब्लिक डिप्लोमेसी भनेको जनतासँग संवाद गर्नु हो । राजदूतले आफूलाई लागेको जवाफ दिनुहुनेछ । सूचना दिनुहुनेछ । कूटनीति भनेको यही हो ।’
पूर्वराजदूत केदारभक्त माथेमाले यस्तो व्यवहार कूटनीतिक मर्यादाबाहिर हुन सक्ने टिप्पणी गरेका छन् । बेरीले आफ्नो अन्तरसंवादबारे सूचना राख्नेबित्तिकै कूटनीतिक मामिलाका जानकारले यसैगरी भोलि भारतीय वा चिनियाँ राजदूत अथवा जोकोहीले ‘जनतासँग कुराकानी’ गर्न थाले के होला भन्ने प्रश्न गरेका छन् । टिप्पणीकार टीकाप्रसाद ढकालले लेखेका छन्, ‘अमेरिकी भिसा र निम्ताको पर्वाह नगरी प्रश्न सोध्ने हिम्मत गरौं : जनतासँग प्रधानमन्त्री कार्यक्रमको समानान्तर ‘राजदूतसँग गफगाफ’ कार्यक्रम गर्न कूटनीतिले छुट दिन्छ ?’

















