चितवन- चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।
संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी रंगशालाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने जनाएको हो । चितवन महोत्सव २०७५ को आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष सहनलाल प्रधानले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाका लागि संघका तर्फबाट तत्काल ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने जनाए ।
बाँकी रकम सहयोग गर्दै जाने अध्यक्ष प्रधानले जानकारी दिए । यसअघि संघले काठमाडौंमा भएको रंगशाला घोषणा कार्यक्रममा २१ लाख सहयोग गर्ने जनाएको थियो । त्यही रकमलाई बढाएर १ करोड रुपैयाँ पुर्याएको अध्यक्ष प्रधानको भनाइ छ ।
भरतपुर महानगरपालिका वडा नः १५ मा अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भइरहेको छ ।


















