काठमाडौं / साझा विवेकशील पार्टीले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
विज्ञापन रद्द गर्न दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा युवा तथा विद्यार्थीले प्रदर्शन गरेका हुन् । साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले प्रदर्शनमा सम्बोधन गर्दै स्थानीय तहमा कर्मचारी नियुक्तीका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग माग गरेका छन् ।
संयोजक मिश्रले संसदीय समितिले दिएको सो निर्देशन नमान्न लोक सेवा आयोगको पनि गम्भिर ध्यानाकर्षण गराए ।
संयोजक मिश्रले लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन नमान्न दवाव दिन पनि आह्वान गरे ।
संयोजक मिश्रले राज्यले लोक सेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेर युवा/विद्यार्थीहरुमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप पनि लगाए ।


















