काठमाडौं / सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले गुठी विधेयक नेपाली कांग्रेसले २०५८ सालमै ल्याएको जनाएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्षि दलले पहिले नै ल्याइसकेको विधेयकको अहिले विरोधमा गर्नु आश्चर्यजनक भएको टिप्पणी गरिन् । कांग्रेसले सरकारमा रहँदा गुठी सम्बन्धी ऐन संशोधन गरेको र २०५८ सालमा विधेयक बनाएको तर प्रतिनिधिसभा भंग भएकाले पास हुन नपाएको उनले जनाइन् । कांग्रेसले आफु सरकारमा हुँदा संशोधित विधेयक सहि ठान्नु तर अहिले त्यसैको विरोध गर्नु अनुचित देखिएको उनको भनाइ छ ।
विधेयकले मोही–किसानको पक्षमा आवाज उठाएको दाबी गर्दै उनले बैठकमा प्रश्न गरिन्, ‘हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने ?’
आवाज उठाउँदै हिड्नेका कुरा मात्रै सुनिने तर गरिब किसान -भोकभोकै हलो जोत्नेहरूको कुरा नसुनिने र सरकार उनीहरूका लागि केही गर्न लागि परेको उनले जनाइन् । भोक भोकै हलो जोत्नेहरुका लागि गुठी विधेयक ल्याइएको बताउँदैै उनले भनिन्, गरिबका लागि कुनै व्यवस्था गर्नै नहुने हो ?
उनले थपिन् ‘दाङको स्वर्गद्वारी गुठीको १२०० बिघा जमिन १६०० घरपरिवारले जोतभोग गरिरहेका छन्। आज स्वार्गद्वारी मन्दिरलाई संरक्षण गर्नेको अवस्था नाजुक छ। त्यतातिर कसैले हेरिरहेको छैन।’ ‘मन्दीर संरक्षण गर्न आफ्नो हातमा ठेला उठायो ती किसानका पक्षमा बोल्ने कि नबोल्ने ? एउटा मन्दीरको पक्षमा बोलिन्छ, एउटा गुठीयारको पक्षमा बोलिन्छ, ती किसानको पक्षमा बोल्ने कि नबोल्ने ? ’

















