आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको जित

175

एजेन्सी / कप्तान केन विलियम्सनले शतकीय रन बनाएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अपराजित यात्रा जारी राखेको छ । बुधबार राति भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हरायो । जितसँगै न्युजिल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४५ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले अविजित एक सय ६ रन बनाए । करियरको १२औं सतक पूरा गरेका विलियम्सले एक सय ३८ बलमा एक छक्का र नौ चौका हानेका थिए । कोलिन डी ग्रान्डहोमले ६०, मार्टिन गुप्टिलले ३५ र जेम्स निसमले २३ रन बनाए । दक्षिण अफ्रिका लागि क्रिस मोरिसले तीन विकेट लिए । कागिसो रबाडा, लुन्गी निडी र एन्डिलो फहवकुलोले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो । मैदान हिलो भएको कारण केही समय ढिला गरी खेल एक ओभर घटाईएको थियो । दक्षिण अफ्रिकाकालागि रस्सि भानडर दुसेनले ६७ रन बनाए । ओपनर हासिम अमलाले ५५, एडेन मार्करामलले ३८, डेविड मिलरले ३६ र फाफ डु प्लेसिसले २३ रन बनाए ।

न्युजिल्यान्डका लागि ल्योकी फग्र्युसनले तीन विकेट लिए । टेन्ट्र बोल्ट, कोलिन डी ग्रान्डहोम र मिचेल सास्टनरले एक एक विकेट लिए । जितसँगै शीर्ष स्थान ओगटेको न्युजिल्यान्डले नौ अंक बनाएको छ । यस हारले दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा कठिन बनेको छ । ६ खेल सकेको दक्षिण अफ्रिका तीन अंक सहित आठौं स्थानमा छ । दक्षिण अफ्रिकाले चार हार, एक जित र एक बराबरी नतिजा निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here