विद्यालयमा छात्रालाई छोटो र कसिलो पोशाक लगाउन प्रतिबन्ध !

276

धनकुटा / धनकुटाको एउटा विद्यालयले छात्रामाथि हुने यौन हिंसाका घटना नहोस् भन्ने उद्देश्यले सबै कक्षाका छात्रामाथि कुर्ता–सलवारको व्यवस्था गरेको छ ।

धनकुटा–२, भीरगाउँमा रहेको श्री टङ्क माविमा यस्तो व्यवस्था भएको हो । नर्सरीदेखि कक्षा–१ सम्म अङ्ग्रेजी माध्यममा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा कक्षा–१ देखि १० सम्मका छात्रालाई यस्तो व्यवस्था गरेको हो । ‘यसअघि छात्राका लागि सर्ट र फ्रक व्यवस्था हुँदै आएको थियो’, प्रधानाध्यापक नरबहादुर विश्वकर्मा भन्छन्, ‘फ्रक त जति छोट्याएपनि हुने, कसैले धेरै छोटो पारेर पनि लगाएको देखियो । यसले सबैमा मनोवैज्ञानिक असर देखियो ।’

विद्यालयमा अध्ययनरत् छात्राहरूले नै अशोभनीय किसिमले विद्यालय पोशाकलाई दुरुपयोग गर्ने क्रम बढेकोले सबै छात्राका लागि कुर्ता–सलवार लगाउन आग्रह गरेको सहायक प्रधानाध्यापक पुष्कर गुरागाईं जनाउँछन् । ‘अब विद्यालय आउँदा मर्यादित नखेदिने पोशाक नलगाउन भनेका छौं’, हाम्रो कोशी आवाज डटकमसँग उनले थपे, ‘त्यही भएर स्कुल आउने अधिकांश छात्रा कुर्ता–सलवारमा आउँछन् ।’

छात्राले कसिलो र छोटो कपडा लगाउन थालेपछि टिनएजर्स छात्र तथा शिक्षकहरूमै मनोवैज्ञानिक असर पर्ने आफूहरूले बुझेको प्रधानाध्यापक विश्वकर्माले जनाए । पाँच सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा यस्तो नियम लगाएपछि अभिभावक पनि खुशी बनेको उनको कथन छ ।

‘सबै अभिभावक पनि ठीक गर्नु भयो भन्दै राम्रो सन्देश दिनतर्फ लागेका छन्’, उनले दावी गरे, ‘यस्तो अभियान धनकुटामै पहिलो हो ।’ उनले कुर्ता–सलवार लगाउँदा खर्चको पनि बचत हुने हुनाले आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि झनै सहज बनेको जनाए । हावाहुरी र वर्षाको समयमा पनि लगाउन सहज हुने, सजिलै लगाउन सकिने हुनाले पनि यस्तो नियम लगाइएको उनको भनाइ छ । विद्यालयमा ११ र १२ मा शिक्षा सङ्कायमा अध्ययन अध्यापन हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here