काठमाडौँ– ‘पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु’ भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरी फेरि अर्को विवादमा मुछिएका छन् ।
उनले असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्नेगरी सार्वजनिक स्थानमा अमर्यादित टिप्पणी गरेका कारण उनी फेरी विवादमा तानिएका हुन् ।
मेयर चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न महिला संघ संगठनले आपत्ति जनाउदै भत्र्सना गरेका छन् ।
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थाका शासकहरुले नै एकपछि अर्को गर्दै महिलाप्रति विभेद तथा हिंसा गर्ने सोंचलाई नै निरन्तरता दिइरहेको गुनासो गर्दै मेयर चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति यही सिलसिलाको पछिल्लो कडी भएको जनाउँदै कारवाहीको माग गरिएको छ ।
‘मेयरले अभिव्यक्त गरेका शब्दहरु आपत्तिजनक छन, अपमानपूर्ण छन् । उनको सो अभिव्यक्तिले महिलाको आत्मसम्मान तथा स्वाभिमानमाथि प्रहार गरेको हाम्रो ठहर छ । उनले प्रयोग गरेको भाषा तथा शब्द कानुनी रुपमा समेत बर्जित शब्द हुन् । त्यस्ता शब्द प्रयोग गर्नेहरुलाई अविलम्ब कानुनी कारवाही गरिनु पर्दछ’ सञ्जालकी अध्यक्ष डा। रेणु अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


















