लमजुङ-मनाङको सीमानामा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या

341

लमजुङ – लमजुङ र मनाङको सीमानामा पर्ने म्यार्दी खोलामा रहेको बेलिब्रज बाढीले बगाएपछि दैनिक आवतजावतमा समस्या भएको छ । गएको वर्ष मात्रै निर्माण गरिएको बेलिब्रिज गत आइतबार दिउँसो आएको बाढीले बगाएको थियो । बाढीले पुल बगाएपछि बेसीशहर-चामे सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

सडक सञ्चालनमा आउन नसक्दा आवतजावतका साथै दैनिक उपभोग्य वस्तु आयातमा समेत समस्या भएको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिनुभयो । उनका अनुसार बाढीले बगाएको म्यार्दी खोलामा आवतजावतका लागि वारपार काठ राखिएको छ । बाढीका कारण अवरुद्ध सडक पूर्ण रुपमा खुलाउने प्रयास भैरहेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले जानकारी दिनुभयो । ‘सडकमा बाढीले पुर्‍याएको अवरोध हटाउने प्रयास भैरहेको छ,’ उनले भने ।

उनले थपे, अहिले लमजुङ बेसीशहरबाट म्यार्दी खोलासम्म बोलेर जीप पुग्ने गरेका छन् । यसैगरी, मनाङतर्फका यात्रु भने चामेबाट गाडीमा तिमाङसम्म पुग्छन् । तिमाङबाट पैदल हिँडेर दानाक्युसम्म पुग्छन्, दानाक्युबाट गाडीमा तालसम्म पुग्छन् । तालबाट हिँडेर लमजुङको च्याम्चे पुग्छन् र त्यहाँबाट गाडी चढेर बेसीशहर लाग्छन् ।

‘बाढीले पुल बगाउँदा पूर्णरुपमा सडक नखुले पनि स्थानीयका साथै पर्यटकहरु आवतजावत गरिरहेका छन्,’ उनले जानकारी दिदै, भन्नुभयो, पूर्णरुपमा बाटो नखुल्दा तरकारी, फलफूल तथा खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु आपूर्ति हुन सकिरहेको छैन, समस्या भएको छ ।’ म्यार्दी खोलामा बेलिब्रिज हुँदा यात्रा सहज हुनुका साथै यात्रा सुरक्षित हुने गरेकोमा पुल बगाउँदा आवतजावतमा निकै समस्या भएको स्थानीयको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here