एजेन्सी / महिला फुटबल विश्वकपको आठौं संस्करणको उपाधि संयुक्त राज्य अमेरिकाले जितेको छ । फ्रान्समा आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेदरल्याण्ड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले चौथो पटक विश्वकपको उपाधी कब्जा गरेको छ ।
पहिलो हाफमा दुबै टोलीले राम्रो प्रयास गरेपनी गोल हुन सकेको थिएन । दोश्रो हाफमा भने नेदरल्याण्ड्सले दुर्भाग्यबस पेनाल्टीमार्फत् पहिलो गोल खाएको थियो । खेलको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् ।
त्यसैगरी खेलको ६९ औं मिनेटमा डच डिफेन्डरको गल्तीको फाइदा उठाउँदै रोस लाभेलले गोल गरेपछि अमेरिकाले उपाधि रक्षा गर्ने छाँट देखिएको थियो । सन् २०१५ को पनि उपाधि जितेको अमेरिकाले त्यसअघि सन् १९९१, १९९९ मा पनि उपाधि जितेको थियो ।
पहिलो पटक फाइनल पुगको नेदरल्याण्ड्स उपविजेता भयो भने स्वीडेन प्रतियोगितामा तेश्रो भएको छ । त्यस्तै इंग्ल्याण्ड चौथोमै सिमित बन्यो । प्रतियोगितामा शानदार प्रदर्शन गर्न सफल भएकी अमेरिकी खेलाडी मेगन रापिनोले उत्कृष्ट खेलाडको उपाधि पनि जितेकी छिन् । त्यस्तै बेल्जियमकी युलिया ग्वीनलाई उत्कृष्ट युवा खेलाडी घोषित गरिएको छ । नेदरल्याण्डसकी सारी भान भिनेन्दाल उत्कृष्ट गोल किपर घोषित भइन् । आयोजक फ्रान्सले फेयर प्ले को उपाधि पाएको
छ ।


















