काठमाडौं / मुलुकभर बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । रेलको लिक बाढीले बगाएको साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर–जनकपुर रेलमार्गमा पर्ने इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक नै बगाएको जानकारी दिनुभयो ।
सञ्चालनका लागि भार परीक्षणसमेत गरिसकिएको रेलमार्गको विभिन्न खण्डमा रेलको लिकमाथि भएर पानी बगिरहेको जनाउँदै उहाँले रेलवे लिकमुनिको ‘बेस’समेत बगाएको जानकारी दिनुभयो । अहिलेसम्मको जानकारी अनुसार करिब आधा किलोमिटर रेलवे लिकको ‘बेस’ बगाएको र करिब चार सय मिटर रेलवे लिकमाथि पानी बगिरहेको जानकारी उहाँले दिनुभयो । त्यसैगरी, जनकपुर रेलवे स्टेसनसमेत डुबानमा परेको छ । वर्षाले रेलवे कर्मचारीहरूको आवासका लागि निर्माण गरिएको घरहरू, विभिन्न रेलवे स्टेसनहरू डुबानमा परेका छन् । क्षतिको थप विवरण आउने क्रममा रहेको महानिर्देशक मिश्रले जानकारी दिनुभएको छ ।