ओली र प्रचण्ड सत्य बोल्छन्: तर गलत काम किन गर्छन् ?

196

– निमकान्त पाण्डे

गत मंगलबार ललितपुरको पार्टी जिल्ला समितिका सदस्यहरूलाई सपथ खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टहरूलाई कमजोर बनाउन प्रतिक्रियावादी शक्ति सक्रिय भइरहेको आरोप लगाए । सम्बोधन गर्ने क्रममा उनी यत्तिमै सीमित भएनन्, उनले कम्युनिस्ट पार्टीप्रति जनताको ठूलो भरोसा र समर्थन रहेको र जनताको पक्षमा काम गर्ने पनि कम्युनिस्ट नै भएको दाबी गरे । दाहालले कार्यक्रमलाई सम्बोधनका क्रममा बोलेका विषय सत्तारुढ दलको अध्यक्ष वा सत्ता साझेदारले बोलेको भन्दा पनि सडकमा रहेर जनताको पक्षमा बोल्ने नेताको भन्दा कम थिएन । यस किसिमको उनको भाषण पहिलो पटक भएको भने होइन । दाहालको सम्बोधनको सार कम्युनिस्टहरू देश र जनताकै पक्षमा हुन्छन्, प्रतिक्रियावादीले उनीहरूलाई जनताबाट टाढा राख्न खोज्छन् भन्ने नै पाइयो । दाहालकै जस्तो भाषण प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीकै हैसियतमा विभन्न कार्यक्रममा बोल्दै आएका छन् । यी दुवैले बोलेका धेरै जसो विषयहरूमा विमति जनाउनुपर्ने खासै कारण देखिदैन ।

अहिले सत्तामा यी दुवै नेताको हालिमुहाली छ । जनताप्रति साच्चिकै इमान्दार हुने हो भने सत्तामा हुँदै जनताका पक्षमा काम गर्न उनीहरूलाई कसैले रोक्न सक्दैन । अर्काे कुरा उनीहरूले पटक पटक प्रतिक्रियावादी भनेर जसलाई आरोपित गर्न खोजिरहेका हुन्छन् । दुई तिहाई नेतृत्वको सरकारले हिजो जनतासामु दिएका आश्वासनलाई पुरा गर्ने हो भने कुनै पनि किसिमको प्रतिक्रियावादी तत्वसँग ओली वा प्रचण्डले लड्नु पर्ने अवस्था रहने छैन । त्यसको जिम्मा स्वयम जनताले नै लिन तयार हुने छन् । नेपाली जनता जहिले पनि सत्यकै पक्षमा अडिने गरेका छन् । विगतदेखि वर्तमानसम्म आइपुग्दा सत्यकै प्राप्तिका लागि उनीहरूले आफ्नो जीवन बलिदान गर्न समेत पछि परेका छैनन् । तर उपलब्धिका रूपमा झूठ भन्दा बढी उनीहरूको हातमा केही लागेको छैन् । आज पनि उनीहरू नेताहरूका झूठा आश्वासन सुन्नु शिवाय केही पाइरहेका छैनन् ।
नेताहरूले आफूले बोले अनुसारको काम गर्ने हो भने जनताका नजरमा उनीहरू भगवानकै जस्तै सम्मान पाउने अवस्थामा छन् । हिजो सशस्त्र आन्दोलन किन गरियो ? त्यस्ता आन्दोलनको लक्ष्य वा उद्देश्यहरू के थिए ? आज ती उद्देश्य पुरा गर्ने बाटोमा कहाँसम्म पुगिएको छ ? नेताहरूले प्रष्ट रूपमा भन्ने हो भने र त्यहाँ देखिएका जटिलताका विषयमा समेत जनतालाई इमान्दारिताका साथ प्रष्ट पार्न सक्ने हो भने जनताले नेताहरूलाई विश्वास नगर्नुपर्ने कुनै कारण देखिदैन । तर विडम्बना ! व्यवहारमा जनतालाई सधै झुक्याउने नेताहरू भाषणमार्फत सधै जनताकै लागि लडिरहेको र जनताकै पक्षमा भएजस्तो स्वाङ पार्ने गरिरहेका छन् । पछिल्लो चरणमा विप्लव नेतृत्वको नेकपाका विरुद्ध पञ्चायती शासकहरू भन्दा पनि तल्लो स्तरमा उत्रिएर जनताका निम्ति आवाज उठाउने युवाहरूलाई गोलीका निशाना बनाइरहेका घटनाहरूले स्पष्ट पारिरहेका छन् कि ओली र दाहाल सत्ताको गन्तव्य कता हो ?

हिजो जस्तो अस्थिर सरकार आज छैन, सर्वाेच्च निकायदेखि कार्यकारी निकायसम्म जनताकै छोराछोरी आसिन छन् । दुई तिहाईको सरकार भएकाले आफू अनुकुल निर्णय गर्न सरकार स्वतन्त्र छ । अर्काेतर्फ जनताको पक्षमा निर्णय गर्दा कतिपय अप्रिय निर्णय नै लिनुपर्ने रहेछ भनेपनि त्यसको कतैबाट विरोध हुने सम्भावना हुँदैन । जनताका पक्षमा काम गर्दा कसैले विरोध गर्छ भने पनि त्यो आफै पतन वा कमजोर भएर जान्छ । तर गन्तव्य ठीक विपरित छ । अब भाषणमा बोलेजस्तै जनताको पक्षमा काम गर्न कसले रोकेको छ ? नेताहरू किन जनताको पक्षमा काम गर्न सक्दैनन ? शक्तिशाली कम्युनिस्ट सरकार हुँदासमेत सर्वहारा वर्गले सधै अन्यायमा पर्ने हो भने सर्वहारा वर्गले न्याय पाउने कहिले ? यस्ता विषयमा कम्युनिस्ट सरकार र नेतृत्वले किन काम गर्न सकिरहेको छैन ? अझै पनि किन हुँदै नभएको शक्तिलाई बनाबटी देखाएर जनतासँग झूठ बोल्ने काम भइरहेको छ ? हिँजो जसरी प्रतिक्रियावादी वा सामन्ती व्यवस्था भनेर राजसंस्थालाई आरोपित गर्ने गरिन्थ्यो आज त त्यस्तो अवस्था छैन । आजको अवस्थामा सत्तासीन नेकपाका लागि को हो प्रतिक्रियावादी ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री संसददेखि प्रदेश र स्थानीय सरकार समेत नेकपाकै भएको अवस्थामा किन काल्पनिक शक्तिको परिकल्पना गरेर जनताको पक्षमा काम गर्नबाट पन्छिन खोजिदै छ ? यसको जवाफ वर्तमान सरकार र राजनीतिक नेतृत्वले दिनै पर्छ । यदि जनताको पक्षमा काम गर्न अहिले पनि सम्भव छैन भने के कति कारणले सम्भव छैन ? किन यस्तो भइरहेको छ भन्ने विषयमा जनतालाई प्रष्ट पारिदिनुपर्छ । भ्रमको खेती गरेर जनतालाई सधै अल्मल्याउने प्रवृत्तिको जतिसक्दो छिटो अन्त्य हुनुपर्छ र नेताहरूको भनाई र गराईमा समानता आउन जरुरी छ । अन्यथा यो अवस्था स्वयम् राजनीतिक नेतृत्वकै लागि प्रत्यूत्पादक हुन जानेछ । आगे नेताजीहरूलाई चेतना भया !

– जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here