बाढी निरीक्षणमा गएका नेताले बुइ चढेर हिलो छलेपछि…

563

 काठमाडौं / नेता र मन्त्री बोकेको नेपाली सेनाको हेलिकोप्टर तराईका बाढीग्रस्त जिल्लामा निरिक्षणमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ तथा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसहितको टोली बुधबार बिहान रौतहट पुगेको थियो ।

रौतहट बाढीबाट यो वर्ष सबैभन्दा बढी प्रभावित जिल्ला हो। अहिलेसम्म त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। बाढी पीडित जिल्लाहरुमध्ये रौतहट नै काठमाडौंबाट सबैभन्दा नजिकको जिल्ला पनि हो।

डुबान क्षेत्रमा राहात नपाएको र कोही नेता र जनप्रतिनिधि पनि नआएको गुनासो आइरहेका बेला सरकारको टोली बाढीग्रस्त क्षेत्रमा पुगेको थियो।

मन्त्री, पूर्वप्रधानमन्त्रीसहितको टोली बुधबारै सप्तरी जिल्ला पनि पुगेको थियो। सप्तरीका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी तिलाठी बाढीबाट प्रभावित छ। प्रहरी चौकी नै विस्थापित भएको तिलाठी भारतसँग सीमा जोडिएको सीमावर्ती गाउँ हो। हेलिकोप्टर बिसाएर करिब एक घन्टा पैदल हिँडेर मन्त्री तथा नेताहरु त्यहाँ पुगेका थिए।

तिलाठी पुगेपछि मलाई रिंगाटा लाग्योः सांसद सुमन प्याकुरेल

तिलाठीमा सत्तारुढ नेकपाका एक जना नेता एवं राष्ट्रिय सभा सांसद सुमन प्याकुरेलले बुइ चढेर हिलो छलेको फोटो अहिले भाइरल भइरहेको छ। उनी सोही जिल्लाका नेता हुन्। तस्विरमा उनले पाइन्ट, जुत्ता र कोट लगाएका छन्। हातमा जुत्ता समातेका एक व्यक्तिले उनलाई काँधमा बोकेर अघि बढिरहेको देखिन्छ। यो दृश्य देखेका नजिकैका सेना तथा प्रहरी हाँसिरहेका छन्। बाढीग्रस्त क्षेत्रमा जुत्ता बचाउन नेतालाई काँधमा बोकिएको चर्चा चुलिएसँगै सांसद प्याकुरेलसँग सम्पर्क गरी प्रश्न सोधिएको थियो ।

यो तस्विर कहाँ खिचिएको तस्विर हो ?-

-तीन जना मन्त्री तथा पूर्व प्रधानमन्त्रीसहितको टोलीसँगै बाढी पीडितको निरीक्षणमा गएका बेला सप्तरीको तिलाठीको खिचिएको फोटो हो, त्यो। हिजो बुधबारको कुरा हो।

तपाइँलाई बोक्ने व्यक्ति चाहिँ को हुन् ?
-उनी चिनजानकै एक जना भाइ हुन्।

बाढी निरीक्षणमा गएको नेताले जुत्ता जोगाउन बुइँ चढ्नु सुहाउने कुरा हो त ?
-यो विषयमा मलाई अप्ठ्यारोमा पार्ने काम भएको छ। खास कुरा त्यस्तो होइन। मलाई प्रेसर छ। त्यही भएर ती भाइले मलाई बोक्न चाहनु भयो। मलाइ रिंगाटा लागिरहेको थियो।

रिंगाटा लागेको भए बस्न सकिन्थ्यो होला नि होइन ?
-बस्न सक्ने अवस्था त्यहाँ थिएन। चिनजानका भाइले बोक्छु भनेर आफैँले आग्रह गरे। मलाई गाह्रो भइरहेको थियो। मेरो मानवीय अवस्था नबुझी टिका टिप्पणी भइरहेको छ। त्यत्रा तीन/तीन जना मन्त्रीज्यू हुनुहुन्छ। उहाँहरूले देख्नु भएको छ मेरो अवस्था त्यहाँ के भएको थियो भनेर।

-नेपालखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here