फोहर व्यवस्थापनको प्रशिक्षण स्कुलबाटै थालनी गरौं

150

– राज्यलक्ष्मी शाक्य

नेपालको राजधानी काठमाडौं अहिले फोहोरको थुप्राहरूले भरिएको देख्न सकिन्छ । जताततै सडकका किनारमा फोहोरको थुप्रोले शहरलाई दुर्गन्धित बनाइरहेको छ । वर्षायाममा फोहरकुहिएर जाने र दुर्गन्ध बढाउने मात्र नभइ रोगको संक्रमण समेत फैलिने खतरा रहन्छ । प्रत्येक वर्षायाममा काठमाडौं उपत्यकावासीले फोहोरका कारणबाट हुने संक्रमणको सामना गरिरहनु परेको छ । कुनैबेला नेपालको राजधानी सुन्दर छ भनेर चिनिएको काठमाडौं उपत्यका अहिले दुर्गन्धित शहर भनेर चिनिन्छ भन्दा फरक पर्दैन । काठमाडौंमा स्वच्छ हावा पानीको अभाव बढ्दै गएको छ । राजधानीको सडकमा जताततै फोहरफालिएको देख्न सकिन्छ । काठमाडौं राजधानी वरपरका जिल्ला ललितपुर र भक्तपुरमा समेत प्रायजसो फोहरथुप्रिरहेको देख्न सकिन्छ । फोहरसडकका चोकचोकमा थुपारिएको देखिन्छ । जनता फोहरथुपारिएको बाटो हिँडिरहेका हुन्छन् तर फोहरव्यवस्थापन भने हुँदैन । राजधानीमा बसोबास गर्ने जनसंख्याको आधारमा फोहरपनि जनसंख्या भन्दा दोब्बर मात्रामा बढ्ने गरेको पाइन्छ । सरकारले फोहरव्यवस्थापन गर्न सकिरहेको छैन । फोहर र दुर्गन्धका कारण पनि सडकमा हिँडनेहरूले मास्क लगाएर हिँडनु परिरहेको अवस्था छ ।

दुर्गन्धित फोहर र त्यो फोहरबाट उत्पन्न हुने भाइरल संक्रमण मानव जीवनका लागि विनाशक मानिन्छ । तर संक्रमणले दिनप्रतिदिन काठमाडौंबासी जनताको स्वास्थ्य बिग्रिदै गएको अवस्था छ । जनताको स्वाथ्य र वातावरणमा परिरहेको असर रोकथाम गर्न स्वच्छ वातावरणको आवश्यकता हुन्छ, जसका लागि फोहरको उचित व्यवस्थापन हुनु जरुरी हुन्छ । तर हाल काठमाडौंका सडक किनारामा थुप्रिएका फोहर व्यवस्थापन गर्न समेत कठिनाइ भइरहेको अवस्था छ । नुवाकोटको साबिक ककनी गाविसअन्तर्गत ओखरपौवाको सिसडोलस्थित ल्यान्डफिल साइट फोहरले भरिएको छ । १३ वर्षअघि निर्माण सुरु भएको बन्चरे डाँडाको ल्यान्डफिल साइट अलपत्र छ । सिसडोल भरिइसकेको र बन्चरेडाँडा नबनिसकेकाले तत्काल फोहर व्यवस्थापनका लागि विकल्प खोज्नुपर्ने काठमाडौं महानगरपालिकाले जनाउँदै आएपनि त्यसमा कुनै प्रगति भएको जानकारीमा आएको छैन । फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरले प्रहरी समेत परिचालन गरेर जनताको अवरोधको पर्वाह नगर्दै फोहर फाल्ने काम भइरहेको छ । फोहर बोकेर गएका गाडीलाई स्कर्टिङ गरेर समेत फोहर फ्याकिएको दृश्यले पनि यो भनाइलाई पुष्टि गरिरहेको अवस्था छ ।

फोहरबाट मोहर बनाउन सकिन्छ भन्ने किम्बदन्ती जस्तो भइसकेको छ । काठमाडौं राजधानीमा बसोबास गर्ने जनसंख्या हेर्ने हो भने एकै घरमा एक भन्दा बढी परिवार भाडामा रहने भएकाले फोहर बढी मात्रामा निस्किरहेको अवस्था छ । राजधानीमा बसोबास गर्ने जनसंख्याको आधारमा फोहर निष्कासन हेर्ने हो भने अबको केही वर्षमा फोहर व्यवस्थापन गर्न असम्भव हुने निश्चित छ । यस्तो अवस्था आउन नदिन सरकार र जनता मिलेर फोहरको उचित व्यवस्थापन गर्न जरुरी छ । फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहरका रूपमा संकलन गर्ने अभ्यास समेत राजधानी उपत्यकामा भएको छैन । महानगरपालिकाले गर्नुपर्ने यो काम अत्यन्त सजिलो ढङ्गबाट गर्न सकिन्छ । महानगरपालिकाले नै स्कुलहरूमा बच्चाहरूमार्फत घरघरमा फोहर संकलनको अभ्यास सिकाउने हो भने त्यो नै प्रभावकारी हुन सक्दछ । तर पनि यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण भएको पाइँदैन ।

वातावरण संरक्षण ऐन २०५३ ले दिएको अधिकार प्रयोग गरी बनेको फोहरमैला व्यवस्थापन ऐन २०६८ (यसपछि ऐन भनिने) लागु भएको ७ वर्ष बितिसक्दा पनि फोहर व्यवस्थापन हुन सकेको छैन । फोहर व्यवस्थापनमा सम्बन्धित सरोकारवालाबाट प्रभावकारी रूपमा काम गर्न सकेको पाइँदैन । त्यसैले पनि फोहर व्यवस्थापनका लागि नयाँ विकल्प अपनाउन आवश्यक देखिन्छ । सबैभन्दा फोहरलाई फोहर नसम्झी मोहर सम्झिने शिक्षा नै आवश्यक छ । यसका लागि पनि स्कुल नै प्रभवकारी हुनसक्ने छ, संगसंगै हरेक नागरिक सचेत हुनु जरुरी छ । आम जनमानसमा फोहर व्यवस्थापनकाबारेमा चेतना नहुँदा पनि फोहर बढ्दै गएको हो भन्ने कुरा स्पष्टै छ । फोहर भन्दै सबै चीज एकैठाउँमा पोका पारेर नगरपालिकाको गाडी आउँदा त्यसैमा हालेर पठाउने धेरैको अभ्यास भइरहेको छ । यो अभ्यास गलत हो भन्ने कुरा बुझ्नेहरूले पनि यस्तै गरिरहेको पाइन्छ । यस्तो अभ्यास हटाउन तत्कालै पहल गरिहाल्नु जरुरी छ । फोहोरलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहरवस्तु अर्को व्यक्तिका लागि कच्चा पदार्थ हुनसक्छ ।
फोहर व्यवस्थापन गर्न जनतालाई सचेत बनाउनुका साथै फोहर उत्पादनमा पनि कमी ल्याउन जरुरी छ । फोहर कम उत्पादन गर्नका लागि खाना पकाउँदा ठिक्क पुग्नेगरी मात्र पकाउने, कपडाहरू लामो समयसम्म टिकाउ हुने खालका किन्ने, पैसाले पुग्यो भन्दैमा एकै व्यक्तिले धेरै जोडा कपडा नकिन्ने, जुत्ताको प्रयोग त्यही तरिकाले गर्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने । यस्ता कामहरूमा स्कुलबाटै बच्चाहरूमार्फत प्रशिक्षणको आवश्यकता सरकारले महसुस गर्नुपर्दछ ।

-rajyalaxmishakya@gmail.com – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here