काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरू भएको जनाएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रूपमा भनसुन उद्योग फस्टाउँदै गएको जनाएका हुन्।
लोक सेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनले दाबी गरे।
देउवाले भने, ‘नेपालमा भनसुन उद्योग सुरू भइसक्यो। सबभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो। जसको भनसुन हुन्छ उसको चल्छ। लोक सेवा आयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? भनसुन गर्ने मान्छे छैन भने फेल गर्दिन्छन्।’
उनले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएको, भ्रष्टाचारलगायत सुशासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको जनाए।


















