काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपाका नेता योगेश भट्टराई नियुक्त भएका छन् ।पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका थिए । बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता योगेश भट्टराई नियुक्त भएलगत्तै थाँती रहेका मन्त्रालयको कामकारवाहीका मुद्दाहरु उठान भएका छन्।
पहिलो पटक मन्त्री बनेको दोस्रो दिन बिहान बल्खुस्थित आफ्ना ‘आइडल’ नेता मदन भण्डारीको स्मारकमा माल्यार्पण गर्न पुगेका भट्टराईले आफू अस्वाभिक बाटोबाट आएको तर स्वाभाविक मार्ग दिनु आफ्नो कर्तव्य रहेको सञ्चारमाध्यमसंग जनाएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचककारुपमा चिनिएका मन्त्री भट्टराईले आफू प्रधानमन्त्री ओलीको कडा आलोचक मात्रै नभई कठोर समर्थक पनि रहेको जनाउँदै आफ्नो खेल सुरु भइसकेको र समर्थक दर्शक अर्थात जनतालाई निराश नबनाउने प्रतिवद्धता व्यक्त छन् ।
भट्टराईले प्रधानमन्त्री ओलीको विश्वासमाथि कुठाराघात नगर्ने प्रण गरेका छन्। यस्तै पूर्वमन्त्री अधिकारीले सुरु गरेका कामलाई नयाँ उचाईमा लैजाने घोषणा गरेका उनले भ्रमण वर्ष ढोकैको चुनौति भएको भन्दै त्यसका कामलाई द्रुतगतिमा अघि बढाउने जनाएका छन् ।


















