३ पिएचडी युवाको अगुवाईमा जापानबाट सुरु ‘रारामार्ट’ यसरी बन्दैछ ‘ग्लोवल ब्राण्ड’

233

जापान र नेपालमा आक्रामक सुरुवात, अमेरिकामा कम्पनी स्थापना, २०२१ सम्ममा भारतमा पनि

गरे के हुँदैन ! सफलता भाग्यमा होईन, कर्ममा हुन्छ । पिएचडी अध्ययनको लागी जापान पुगेर अध्ययनसँगै ईन्टरनेटमा आधारित व्यवसाय (ईकमर्श व्यवसाय)मा सफलताको सिँडी चढिरहेका ३ नेपाली युवाको कथा कम्ति रोचक छैन ।

ग्लोबल ईकमर्शको दुनियामा अमेरिका पछिको दोश्रो प्रतिस्पर्धी बजारका रुपमा रहेको जापानमा इकमर्श व्यवसाय स्थापना गर्नु र त्यसलाई टिकाएर अघि बढाउनु पक्कैपनि कम चुनौतीपुर्ण छैन । तर चुनौतीलाई स्विकारेर अघि बढिरहेका छन् ३ नेपाली युवा -प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगी । अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तिय अर्थशास्त्रमा पिएचडी अध्ययन गरिरहेका छन् ।

अध्ययनसँगै केही नयाँ र चुनौतीपुर्ण काम गर्नुपर्छ भन्ने सोचिरहेका अम्गाई र नेगीको बिचारले मुर्तरुप पाउँछ जव उनीहरुको अर्का संघर्षशिल युवा सापकोटासँग जापानको कोबे सिटीमा भेट हुन्छ । अनि एक पाईलाबाट सुरु हुन्छ हजार माईलको यात्रा र जन्मन्छ रारामार्ट अनलाईन सपिङ्ग । अम्गाई र नेगी व्यवसायीक अनुभवको दृष्टीले नयाँ थिए भने सापकोटाले जापान जानुअघि नेपालमा मिडिया, बिज्ञापन एजेन्सी, आईटी लगायतको व्यवसायमा करिब एक दशक सफलताको अनुभव बटुलिसकेका थिए ।

झण्डै ६ महिनाको गहन अध्ययनपछि औपचारिक रुपमा कम्पनी सुरु गर्ने अठोट सहित उनीहरुले पुँजी संकलनको लागी जापानको ओशाका, नागोया, टोकियो जस्ता सिटीहरुमा नेपाली लगानीकर्ता भेटघाट कार्यक्रम आयोजना गरे तर करोड आम्दानी गरिरहेका नेपाली व्यवसायीहरुले उनीहरुलाई ५० हजार लगानी पनि पत्याएनन् । यसले आफुहरुमा केही निराशा उत्पन्न गराएपनि आफुहरुले हिम्मत नहारी निरन्तर अघि बढिरहेको र हाल आफुहरुलाई केही नेपाली, जापानिज र अमेरिकन लगानीकर्ताहरुले साथ दिईरहेको  कम्पनीका संस्थापक निर्देशक प्रकाशचन्द्र सापकोटा जनाउँछन् ।

उनका अनुसार उनीहरुले सयौं नामहरु मध्येबाट नेपालको प्रख्यात ताल रारालाई जोडिने गरी कम्पनीको नामाकरण गरे ‘रारामार्ट’ । प्रारम्भमा फेसबुकमा आधारित बिक्रीबाट प्रारम्भ भएको रारामार्ट स्थापना भएको १ बर्षपछि अनलाईन स्वरुपमा प्रारम्भ भयो र हाल जापानमा रारामार्ट डटको डट जेपीबाट बजारमा आक्रामक रुपमा अघि बढिरहेको छ । यससँगै रारामार्ट जापानको ट्रेडमार्क तथा प्याटेण्ट दर्ता गर्ने सरकारी निकायबाट अन्तराष्ट्रिय ट्रेडमार्कका रुपमा दर्ता भईसकेको छ ।

पहिलो वर्षको आकर्षक बिक्रीबाट हौसिएका उनीहरुले रारामार्टलाई नेपालमा समेत बिस्तार गर्ने सोच अनुरुप नेपालमा कम्पनी दर्ता गरे र उनीहरुलाई साथ दिए नेपालका प्रख्यात उद्योगी–व्यवसायीहरुले । हाल रारामार्ट नेपालमा प्रख्यात उद्योगी प्रदिपजंग पाण्डे, युवा उद्यमी कुशल जोशी, केही मारबाडी समुदायका प्रख्यात उद्योगीहरु, नयाँ पुस्ताका मारबाडी युवाहरु र अन्य गरि करिब २० जना जतिको संलग्नता रहेको छ ।

नेपालमा झण्डै १ बर्ष देखी रारामार्ट डटकमको नामबाट आन्तरिक रुपमा परिक्षण प्रशारण भईरहेको रारामार्ट केही समय अघि बजारमा लाईभ भएपनि कुनै प्रचार प्रशारबिना नै प्रशारित भइरहेको र केही दिनबाट आक्रामक रुपमा बजारमा आउने जनाउँछन् कम्पनीका संस्थापक निर्देशक सापकोटा । उनी भन्छन् ‘पुर्णतया प्रबिधीमा आधारित व्यवसाय भएको हुँदा प्राबिधीक पक्षको सफल परिक्षण नगरी बजारमा हल्ला गर्दा जस्तो सुकै जोखिम हुनसक्ने देखिएकोले केही ढिला गरी प्रचार अभियानमा निस्किएका हौं र अव हामी आक्रामक रुपमा अघि बढ्छौं ।’

उनका अनुसार प्रारम्भमा रारामार्टको प्राविधीक निर्माण नेपालबाट सुरुवात भएपनि नेपाली कम्पनीबाट धोका खाएकोले हाल मुख्यरुपमा प्राबिधीक निर्माणको कार्य अमेरिकाबाट हुँदै आएको छ भने कम्पनीले नेपाल र जापानमा पनि ईनहाउस दक्ष आईटी ईञ्जिनियरहरु राखेर काम गर्दै आएको छ । चिनिया ईकर्श जाईन्ट अलिबाबा ग्रुपका प्रमुख ‘ज्याक मा’लाई आदर्श ठान्ने कम्पनीका निर्देशक सापकोटा ‘मा’को संघर्ष र सफलताको कथाले उत्प्रेरित गरेको जनाउँछन ।

‘रारामार्ट’ जापानको सबैभन्दा सस्तो अनलाईन सपिङ्ग
जापानको रोक्कोमिचीमा अवस्थित पार्कमा कोरिएको पहिलो बिजिनेश स्केचबाट सुरुभएको रारामार्टको मुख्य बिशेषता भनेको सस्तोमा गुणस्तरिय बस्तुहरु बिक्री गर्नु रहेको छ । अमेजन, राकुतेन जस्ता बिलियन डलरका विश्वका अब्वल सपिङ्ग कम्पनीहरुको उच्च तहको प्रतिष्प्रर्धा रहेको जापानमा कम्पनी टिकाउनु निकै चुनौतीपुर्ण रहेको जनाउँछन अर्का निर्देशक डा. जीवन अम्गाँई । उनका अनुसार जापानमा रारामार्टले पहिलो चरणमा जापानमा बस्ने बिदेशी नागरिकहरुलाई लक्षित गरिहेको छ र निकै कम मार्जिनमा सामानहरु बिक्री गरिरहेको छ र जस्को फलस्वरुप महंगो दैनिकीबाट हैरान जापानिजहरुको आकर्षणपनि रारामार्टप्रति बढिरहेको छ । उनी जापानका ईकमर्श जाईन्टहरु राकुतेन, अमेजन भन्दा पनि रारामार्ट निकै सस्तो रहेको ठोकुवा गर्छन् । ।

रारामार्टले जापानमा मुख्यरुपमा मोवाईल, इलेक्ट्रोनिक्स, कपडा, जुत्ता जस्ता सामानहरुको बिक्री तिब्ररुपमा बिस्तार गरिरहेको छ । खासगरी एप्पल ब्राण्डका घडी, मोवाईल, ल्यापटपहरुको बिक्रीको हिस्सा सबै भन्दा बढिरहेको र त्यसपछि महिलाहरुको कपडाहरु रहेको बताउँछन डा. अम्गाई । उनका अनुसार रारामार्टले यी बस्तुको मुल्यलाई नै आफ्नो पहिलो हतियार बनाईरहेको छ । तर उनी रारामार्ट जापानको बिदेशी भेण्डरहरुको प्रडक्टहरुमा छिटो डेलिभरी गर्न नसक्नुमा भने आँफुहरुको कमजोरी रहेको जनाउँछन् । उनका अनुसार यसका लागी कम्पनीले जापानको सबैभन्दा ठुलो जापान पोष्ट बैंक, डिएचएल, फेडएक्स जस्ता अन्तराष्ट्रिय सिपिङ्ग कम्पनीहरुहरुसँग एक्सप्रेस डेलिभरी टाईअप मेकानिजमको लागी प्रयत्न गरिरहेको छ ।

रारामार्ट नेपाल : फ्री र २४ घण्टे डेलिभरी
रारामार्ट नेपालले अनलाईन सपिङ्ग बजारको मुख्य कमजोरीलाई शुक्ष्म ढंगले अध्ययन गरी त्यस अनुसारको रणनीति तर्जुमा गरि अघि बढाएको बताउँछन ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रा.लि.’ का अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डे । सुचना प्रबिधीमा आधारित व्यवसाय सबैका लागी अनिवार्य भइसकेको अवस्थामा आँफुहरुले पनि प्रबिधीमा दक्ष युवाहरुसँग सहकार्य गरको बताउँछन् अध्यक्ष पाण्डे । उनका अनुसार रारामार्टले पहिलो चरणमा काठमाण्डौ र ललितपुरमा २४ घण्टे निशुल्क डेलीभरीको योजना कार्यान्वयन गरेको छ ।

उनले रारामार्ट निशुल्क डेलिभरी र २४ घण्टा भित्रै डेलिभरी दिने पहिलो अनलाईन सपिङ्ग कम्पनी भएको दाबी गरे । उनले थपे, ‘ हामीले काठमाण्डौ रिङ्गरोड बाहिर र उपत्यका बाहिरको हकमा पनि रारामार्टले अन्य सपिङ्ग कम्पनीहरुको तुलनामा सबैभन्दा कम मुल्यमा सबैभन्दा छिटो डेलिभरी सेवा प्रदान गरिरहेका छौं र डेलिभरीमा मात्र होईन रारामार्टमा रहेका प्रडक्टहरुमा मुल्य किफायतीको दृष्टीले पनि नेपालको पहिलो अनलाईन सपिङ्ग कम्पनी हुनेगरि नयाँ रणनीति सार्वजानिक गरिनेछ’ ।

अमेरिका देखी ईण्डियासम्म यसरी हुँदैछ रारामार्टको बिस्तार
नेपाली युवाहरुको भिजन र अगुवाईमा जापानबाट सुरु रारामार्ट नेपालसँगै यतिबेला अमेरिकामा सेवा बिस्तारको प्रक्रियामा अघि बढिरहेको छ । जस्को फलस्वरुप केही महिना अघिमात्र अमेरिकामा कार्यरत नेपालीमुलका अगुवा व्यवसायीहरुको सहभागितामा अमेरिकाको टेक्सस्मा ‘रारा युएसए कर्पोरेशन’ नामक कम्पनी स्थापना भईसकेको छ ।

रारा ग्रुपका निर्देशक प्रकाशचन्द्र सापकोटाका अनुसार कम्पनीले प्रारम्भमा केही समय क्राउड फण्डिङ्गको मोडालिटीमा फण्ड कलेक्सनको काम गर्नेछ र सन् २०२० को अन्तसम्ममा अमेरिकाबाट वल्र्डवाईड ईकमर्श सपिङ्ग साईट संचालनमा ल्याउने छ । उनले अनुसार रारामार्टले सन् २०२१ को अन्तसम्ममा ईण्डियामा समेत कम्पनी स्थापना गरिने जनाए ।

कम्पनीका अर्का निर्देशक डा. भरतसिंह नेगीले जापान र अमेरिकामा रारामार्टको स्थायित्वसँगै भारत लगाएतका बिकाशोन्मुख तथा अल्पबिकशित देशहरुलाई पहिलो प्राथमिकतामा राखेर व्यवसायीक विस्तार रणनीति तर्जुमा गरिने र यस सम्बन्धी बिस्तृत कार्ययोजना छिट्टै सार्वजानिक गरिने जनाए । उनले रारामार्टको ग्लोबल ब्राण्डमा लगानीका लागी विश्वभरीका नेपाली तथा गैह्नेपालीहरुलाई अवसर प्रदान गर्ने र यसको कार्ययोजना समेत छिट्टै सार्वजानिक हुने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here