दाङमा पत्रकार जानकी चौधरी सहभागी कार्यक्रममाथि प्रहरी हस्तक्षेप

183

दाङ– दाङ सन्देश अनलाइनका सम्पादक जानकी दहित चौधरी सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरिय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यालयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा हस्तक्षेप गरेको हो ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष समेत रहेका पत्रकार चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर पत्रकार महासंघको कार्यालयमा राखेको बुझिएको छ । महासंघको प्रदेश स्तरिय गोष्ठीमा सहभागी हुन दाङ पुगेका पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जियम लगायत केन्द्रीय पदाधिकारी सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नुले सञ्चारजगतप्रति सरकारी रबैयाको संकेत देखिएको छ ।

तत्काल पत्रकार चौधरीलाई नियन्त्रणमा लिन असफल भएको प्रहरीले अहिले पत्रकार महासंघको दाङको गेट बाहिर शिविल प्रहरी परिचालन गरि नियन्त्रणमा लिने कोसिस गरेको बुझिएको छ ।

यसैगरी जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संगठनका केन्द्रीय कोषाध्यक्ष चौधरीलाई गरेको हस्तक्षेप र नियन्त्रण प्रयासप्रति खेद प्रकट गरेका छन् । पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन पुगेकि संगठनका कोषाध्यक्षलाई प्रहरीले हस्तक्षेप गरि प्रेस स्वतन्त्रतामाथि हमला गरेको जनाए । सरकारले विचार र आस्थाका आधारमा पत्रकारलाई धरपकड र गिरफ्तार गरेकोप्रति आक्रोस प्रकट गर्दै प्रेस विरोधी हर्कत तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here