किन गर्छन् धनीदेखि गरिबसम्मले आत्महत्या ?

98

– निशा तामाङ

पछिल्लो केही दिन यता पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले ठूलै तहल्का मच्चायो । विभिन्न सञ्चारमाध्यममा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर विभिन्न टिका टिप्पणी पनि भएका छन् । आफ्नो जीवन आफैले हत्या गरेर समाप्त गर्नु अर्थात आत्महत्या कसरी गर्न सक्छन् ? आखिर मानिस आत्महत्या किन गर्छन् ? प्रकृतिले दिएको जीवन समाप्त गर्न ‘आत्महत्या गर्छु’ भन्ने सोच कसरी बनाउन सक्छन् ? त्यसमा पनि एउटा पत्रकारले ! अरुलाई सचेत बनाउने र सुसुचित बनाउने पत्रकारले ! यो गम्भीर प्रश्नको कारण बुझ्न कठिन छ । मानिसको इतिहासकालको परम्परागत जीवनशैली परिवर्तनदेखि अहिलेको आधुनिकिकरणको युगसम्म आइपुग्दा जीवन बोझ लागेर आत्महत्या गर्नेको विकासक्रम पनि बढ्दै गएको छ । प्रविधि विकासले आधुनिक जीवनयापन सहज बनाउँदै गएको छ । तर जति जीवनयापन सहज बनेको छ त्यति नै मात्रामा मानिसमा जीवन प्रति मोह घट्दै गएको पाउन थालिएको छ । मानिस गरिबीका कारण, जीवनमा सफल नभएका कारण, समाजमा बेइज्जत हुने, बस्न नसक्ने, अरुको हेपाई र डरका कारण पनि आत्महत्याको बाटो रोज्ने प्रवृति बढ्दै गएको पाइन्छ । वर्तमान अवस्थामा आत्महत्या गर्नेको तथ्यांक हेर्ने हो भने सामान्य गरिबदेखि लिएर अर्बौको व्यापारी समेतले आत्महत्या गरिरहेका छन् ।

मानिस त्यसै आत्महत्या गर्दैन । प्रत्येक आत्महत्याका घटना खास कारणले हुन्छन् । कहि कतै दबाबका कारण त कतै प्रभावका कारण आत्महत्या हुने गरेका पाइन्छन् । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले पनि मानिसले आत्महत्या गर्ने गर्दछन् । आत्महत्याका कारणहरूमा डिप्रेसन, दीर्घरोग, इच्छा पुरा गर्न नसक्नु, दबाब, असफल वैवाहिक जीवन, असफल प्रेम आदि छन् । निको नहुने वा उपचार हुन नसक्ने रोग लागेर पनि आत्महत्या हुने गरेका छन् । पुरुष भन्दा अझ बढी महिलाहरूमा आत्महत्या गर्ने संख्या बढेको पाइन्छ । इज्जत लुटिँदा, ज्यादै अपमानित हुनु पर्दा, आर्थिक हानी नोक्सानी र प्रेममा असफल हुँदा पनि आत्महत्या भएका छन् । मानिसक समस्याको कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ ।

आत्महत्या गर्नुका कारण जति पनि छन् त्यो भन्दा आत्महत्या गर्ने तरिका पनि त्यति नै फरक फरक रहेको पाइन्छ । आत्महत्या कोही पासो लगाएर मर्छन् , कोहि विष सेवन गरेर मर्छन् , कोही नदिमा हामफालेर आत्महत्या गर्ने गर्दछन् । आफ्नो जीवन आफै समाप्त पार्न मानिस अनेक उपाय लगाएर आत्महत्या गर्ने गर्दछन् । आत्महत्याको भावनाले धनी गरिब केही नभनी आत्महत्या गर्न उत्प्रेरित रहेको पाइन्छ ।

आत्महत्या गर्नेले कसैको बारेमा केही नसोचि आत्महत्या गर्छन् । आफ्नो बारेमा, परिवारको खुशीको बारेमा सोचेर सबै दुःख पीरको अन्त्य गर्न आत्महत्या गरेको पाइन्छ । आत्महत्या गर्दा दुःख टर्ने भन्ने सोचले आत्महत्या त गर्दा हुन्, तर त्यो आत्महत्याले परिवारमा कति पीडा हुन्छ ? आत्महत्या गर्नेले यो विषयमा नसोचेको हुनसक्छ । धेरैजसो आत्महत्याको घटना मानसिक बिरामीबाट हुने गरेको पाइन्छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै पाइएका छन् । यसबाहेक गलत आरोपलाई सहन नसकेर पनि आत्महत्या हुने गरेका पाइन्छन् । आत्महत्या यस्तो भयावह समस्या बन्न पुगिरहेको छ कि यसको नियन्त्रणको पनि उपाय देखिदैन । आत्महत्या जघन्य अपराध हो तर यो अपराध गर्नेलाई सजाय गर्न सकिदैन ।

घरको कमजोर आर्थिक अवस्था अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि मानिसहरू आत्महत्याको सिकार बन्दै गएका छन् । विशेषगरी वैदेशिक रोजगारीमा गएका युवा युवती तथा पढ्नका लागि गएका विद्यार्थीहरूमा पनि आत्महत्या गर्ने क्रम बढ्दो छ । यो झनै ठूलो समस्या हो । पढाईमा असफलता सामान्य कुरा हो, तर पढाईको असफलताले मानिसलाई मर्न समेत उत्प्रेरित गर्छ भने पढाईको बारेमा पनि गम्भीर बन्नु जरुरी छ ।

आत्महत्याको सोच कतिबेला आउँछ बुझ्न गाह्रो छ । एकछिन अघि संगै बोलेको हाँसेको मान्छे केही क्षणमै आत्महत्या गरेको घटना बाहिर आउने गरेका छन् । यसअर्थमा आत्महत्या नियन्त्रण कसरी गर्ने भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । सामाजिक चेतना नै आत्महत्याबाट बच्ने र बचाउने सबैभन्दा प्रभावकारी पहल हुन सक्दछ भन्ने कुरामा सम्बन्धित जिम्मेवार निकायले ध्यान पु¥याउन आवश्यक छ ।  samarianisu@gmail.com    जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here