पर्यटकहरुलाई बोलाउनुभन्दा पहिले शहरलाई सुन्दर बनाउनेतर्फ ध्यान पु¥याउँ

178

– राज्यलक्ष्मी शाक्य

आगलागी बढ्ने क्रम बढ्दै गएको छ । पहिले पहिले आगलागी भन्नाले जंगलमा लागेको भन्ने बुझिन्थ्यो । तर विज्ञान र प्रविधिको पहुँचसंगै आगलागी हुनुका कारण पनि अनेक हुने गरेका छन् । विज्ञान र प्रविधिको विकासबाट सृजित उपकरणहरूको प्रयोगले आगलागी धेरै मात्रामा हुने गरेको छ । कतै ग्यास पड्किएर आगो लागेको छ त कतै तेल चुहावटका कारण आगलागी हुने गरेको छ । धेरैजसो भने आगलागीका घट्ना विद्युतीय तारहरू जलेर हुने गरेका पाइन्छन् । आगलागी आफैं वा अरु कसैले लगाएर मात्र हुँदैन भन्ने कुरा पनि केही घटनाक्रमहरूले पुष्टि गरेका छन् । विमा दाबी गर्नका लागि वा बैंकबाट लिएको कर्जाबाट मुक्त हुनका लागि पनि आफ्नै सम्पत्तिमा आगो लगाउने गरेका घटनाहरू पनि बढ्न थालेका छन् ।

बढ्दो जनसंख्याको चापसँगै राजधानीमा टेलिकम सेवा प्रदायक कम्पनी, केवल व्यवसायी तथा नेपाल विद्युत् प्राधिकरणले आफ्नो सेवा विस्तार गर्न तार प्रयोग गरेका छन् । अव्यवस्थित रूपमा झुन्डिएका तारले सवारी दुर्घटना पनि बढाएको छ । सवारी गुडिरहेको हुन्छ, पोलबाट तार जलेर सडकमा गुडिरहेको सवारीसाधनमा ठोक्किने हुन्छ, जसले दुर्घटना बढाउने गर्दछ । अहिले शहरबजारमा सेवा प्रदायक कम्पनीले इन्टरनेट सेवा दिनलाई पोलहरूमा यत्रतत्र छरिएर रहेका अव्यवस्थित तारहरू झुण्डाएका हुन्छन् । ती अव्यवस्थित तारहरूमा दिनहुँ कहीं न कहीं तारहरू जल्ने गरेका देख्न सकिन्छ । तारहरूलाई व्यवस्थित नगर्नाले पनि आगलागीका घट्ना बढ्दै गएको हो भनेर बुझ्न सकिन्छ ।

बिजुलीका तारहरू, टेलिफोनका तारहरू, केबल टिभी र इन्टरनेटका तारहरू एउटै खम्बामा राखिँदा असुरक्षा बढेको र सहरसमेत कुरूप भएको भन्दै आएपनि विद्युत प्राधिकरणले अव्यवस्थित तारहरू हटाउन सकेको छैन । केही दिन अघि मात्र काठमाडौंको बालुवाटारमा सुविसु नाम गरेको इन्टरनेट प्रदायक कम्पनीमा विद्युतीय उपकरणका कारण आगलागी भएको थियो । विद्युतीय तार जलेर आगलागी भएको भनिएको त्यो घटना प्रत्यक्ष रूपमा देख्नेहरू अचानक काठमाडौंमा धुँवा सहितको आगोको मुस्लो देखेर चकित भएका थिए । बम विस्फोट पो हो कि भनेर धेरैमा त्रास उत्पन्न समेत भएको थियो ।

गत मंगलबार मात्रै तीन ठाँउमा आगलागी भएको खबर आयो । आगलागीको कारण सबै विद्युतीय तारका कारण भएको भनेर प्रचारमा आयो । यदि विद्युतीय तारका कारण नै आगलागी भएको घटना सत्य हो भने विद्युतीय तार व्यवयस्थित गर्न नसक्दा आगलागी भइरहेको छ भन्ने पनि पुष्टि हुन्छ । त्यसो हो भने विद्युतीय तारहरूलाई व्यवस्थित गर्न तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ । विद्युतीय तारहरू व्यवस्थित नहुँदा र एकै पोलमा अनेक तारहरू एकसाथ लथालिङ्ग अवस्थामा राख्दा आगलागीका घटनाक्रम बढ्दै गएको पाइन्छ । यसलाई नियन्त्रण गर्न जरुरी छ । अव्यवस्थित तारहरूमा हुने आगलागीका घटनाहरू बढ्दै जाँदा पनि सरकारले सावधानी अपनाउन नसक्नु लापारवाहीको चरम नमुना हो ।

दुईतिहाई बहुमत पाएर सत्ताको बागडोर सम्हालिरहेको वर्तमान सरकारले सत्तामा आएको केही महिनामै उपत्यकाका पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापन गर्ने निर्णय समेत गरेको प्रचार भएको थियो । तर झण्डै दुई वर्ष बित्न लागिसक्दा पनि आफ्नै निर्णयको कार्यान्वयनतर्फ सरकारको चासो देखिएको छैन । अर्कोपटक चुनाव आइसक्दासम्म पनि अव्यवस्थित पोलहरू र तारहरूको व्यवस्थापन सरकारले गर्न सक्ने हो कि होइन भन्ने आशंका बढाएको छ । यो स्थितिले सरकारको कार्यशैलीलाई पनि उपहास गरिरहेको छ । सामान्य भन्दा सामान्य कामहरूमा पनि सरकारको उदासिनता लज्जाजनक हो । अव्यवस्थित रूपमा रहेका तारहरूले शहरको सुन्दरतालाई पनि कुरूप बनाइरहेको अवस्था छ । पर्यटकहरूलाई आमन्त्रण गरिरहेको शहरका सडकमा धुलो सफा गर्न करोडौं खर्च गरेर ब्रुमर खरिद गरिएको छ , तर सडकको शोभा र सुन्दरता बढाउन तारहरू व्यवस्थित गर्नतर्फ लाग्ने सामान्य खर्च पनि सरकारले लगानी गर्न चासो देखाएको छैन । साँच्चै भन्ने हो भने पर्यटन वर्षलाई सफल तुल्याउन पर्यटकहरूलाई बोलाउनु भन्दा पहिले शहरलाई सुन्दर बनाउनेतर्फ ध्यान पु¥याउँन जरुरी छ ।   [email protected]   जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here