काठमाडौँ / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय विदेश मन्त्री एस जयशङ्करको नेपाल आगमनप्रति विरोध जनाएको छ । काठमाडौंमा शुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागि हुन नेपाल आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरको संयुक्त अध्यक्षतामा बस्ने बैठकमा द्वीपक्षीय सम्बन्ध, आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे गहन छलफल हुने जनाइएको छ ।
उनी मन्त्रीको हैसियतमा पहिलोचोटी नेपाल आउँन लागेका हुन् । करिब दुई महिनाअघि मात्र उनी भारतको विदेशमन्त्री भएका थिए । उनी भारतका पूर्व विदेश सचिव पनि हुन् ।
विगतमा भारतले नाकाबन्दी लगाएर नेपाली जनतालाई दुख दिएको, नेपालको ६० हजार वर्ग किलोमिटर जमिनमा भारतले अतिक्रमण गरेको र नेपालको आन्तरिक मामलामा छिमेकी मुलुकको नाममा हस्तक्षेकारी भूमिका खेल्दै आएको जस्ता विभिन्न आरोप लगाउँदै उनको नेपाल आगमनप्रति विरोध जनाउने तयारी भइरहेको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज एक प्रेसविज्ञप्ति जारी गर्दै भोलि हुने भारतीय विदेश मन्त्रीको विरोध जनाएको हो । विज्ञप्तिका अनुसार विश्वमा द्विपक्षीय सम्बन्ध अत्यन्तै खराब भएका मुलुकमध्ये नेपाल र भारत पर्छन् तर भारतीयहरू निर्लज्जतापूर्वक के भन्ने गर्छन् भने नेपाल र भारतबिच विशेष सम्बन्ध छ ।
विज्ञप्तिमा भनिएको छ – `नेपालविरुद्ध दुईवटा लामो समयका नाकाबन्दी कसले लगायो ? कसले अन्तर्राष्ट्रिय कानुनविपरीत सिमानामा बाँध बाँधेर हामीलाई डुबायो ? कसले नेपालको सार्वभौमसत्ताको अपमान गर्दै कालापानीमा सेना राख्यो ? कसले दिनदिनै नेपालको सिमाना मिच्ने क्रम जारी राखेको छ ? कसले नेपालको राजनीति र प्रशासनमा सूक्ष्म व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ ? कसले नेपालको संविधान घोषणा गर्नबाट रोक्ने दुष्प्रयास गर्यो ? सबै भारतले ।´
विज्ञप्तिमा नेपालको विकासको बाधक भारतलाई जनाउदै भनिएको छ -` पीडा के हो ? भारत । नेपालको दु:खको कारण को हो ? भारत । नेपालको विकासको एकमात्र बाधक को हो ? भारत । हामीलाई थोरै दिएजस्तो गरेर हाम्रो सर्वस्व लुट्न खोज्ने को हो ? भारत सरकार । नेपालको जलस्रोतको विकासमा कसले टाङ अड्याइरहेको छ ? भारतले । आफू स्वतन्त्र भएपछि कसले नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गर्दै आएको छ ? भारतले । आफ्ना नागरिकलाई दबाब र प्रभावमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएर कसले नेपालीलाई अल्पमतमा पार्न खोजिरहेको छ ? भारतले । जसले गोर्खा सैनिक बनेर उसको देशको भौगोलिक अखण्डता बचाउन प्राणको आहुति दिन्छ , उसैको लास उसको घरपरिवारलाई नबुझाउने को हो ? भारत । भयङ्कर भूकम्पबाट थिलथिलो भएका नेपालीमाथि अमानवीय रूपमा नाकाबन्दी लगाएर मानवतावादको राग अलाप्ने को हो ? नरेन्द्र दामोदर दास मोदी । हाम्रो संविधान घोषणाको मिति अनिश्चितकालीन रूपमा जाने गरी रोक्न काठमाडौँ आउने को हो ? एस जयशङ्कर । यी उदाहरणले हामीलाई प्रश्न गर्न बाध्य पार्छ , त्यसो भए के भारत हाम्रो शत्रु हो ? यसको उत्तरमा हामीले हो भन्नैपर्छ ।´
भोलि भाद्र ४ गते फेरि उनै एस जयशङ्कर काठमाडौँ आउने भनिएको छ । त्यस्ता व्यक्तिले टेक्दा पनि नेपालको भूमि नै अपवित्र हुन्छ । तसर्थ मोर्चाले जारी गरेको विज्ञप्तिमार्फत नेपाली स्वाभिमान कुल्चन चाहने एस जयशङ्करको भोलि हुने काठमाडौँ आगमनप्रति खुलेर विरोध गर्न आह्वान गरिएको छ ।



















