काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले समाजमा हुने अराजकता र उछृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा देखएको जनाएका छन । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे।
त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पारे। अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ,’ मन्त्री भट्टराईको भनाई थियो, त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ।’ मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराए। उनले विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यक्तामा पनि जोड दिए।
















