काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी आमाको पनि मृत्यु भएको जनाइएको छ।
प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ। यस्तो घटना हुनुको मुख्य कारण प्रेम प्रकरण रहेको जनाइएको छ। स्थानीय प्रहरी अधिकारी आलोक प्रियदर्शीले भने, ‘जुन घरमा उक्त युवकको हत्या भयो, त्यही घरकी युवतीसँग युवकको प्रेम रहेछ, केही महिनाअघि ती दुई जना भागेका थिए, पछि उनीहरु फर्किए र दुवै पक्षबीच सम्झौता भयो, पछि युवक केही कामले त्यहाँ आएका बेला समातेर कुटपिट गरी आगो लगाइयो।’ २५ वर्षीय युवकको नाम मोनू भएको जनाइएको छ।
प्रहरीले युवकका आफन्तको उजुरीका आधारमा ३ जनालाई पक्राउ गरेको र अन्य २ जना फरार रहेको खबर छ।


















