निशा तामाङ
नयाँ मुलुकी अपराध संहिता ऐनमा बलात्कार सम्बन्धी कसुरमा २० वर्षसम्मको जेल सजाय व्यवस्था गरिएको रहेछ । बलात्कारपछि हुने हत्याको आरोपमा जीवन भरी नै जेल बस्नुपर्ने प्रावधान रहेको छ ।
नयाँ कानुनले १० वर्षभन्दा कम उमेरकालाई बलात्कार गरेमा १६ वर्षदेखि २० वर्षसम्म जेल सजाय, १० देखि १४ वर्ष उमेर समूहकालाई बलात्कार गरे १४ देखि १६ वर्षसम्म जेल सजाय र १४ देखि १६ वर्ष उमेरकालाई बलात्कार गरे १४ वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ ।
यसैगरी १६ देखि १८ वर्ष उमेरकोलाई बलात्कार गरे १० देखि १२ वर्षसम्म र १८ वर्षभन्दा माथिकोलाई बलात्कार गरे ७ देखि १० वर्षसम्म जेल सजाय व्यवस्था गरेको छ । हाडनाता करणीमा जन्मकैदसम्मको सजाय छ । सामूहिक बलात्कारका घटनामा थप पाँच वर्ष जेल सजाय हुने संहितामा उल्लेख छ ।
महिला अधिकारकर्मीहरूले बलात्कार र हत्या गरिएका बालिका तथा महिलाहरूको पक्षमा न्याय माग्दै बलात्कारीलाई फाँसीको माग गरिरहेका छन् । गत शनिबार माइतीघर मण्डलामा बलात्कार पछि हत्या गरिएकी निर्मलाको न्यायको पक्षमा विरोध प्रदर्शन गरिएको थियो भने मंगलबार काठमाडौंमा संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अभियन्ता सावित्रा सुवेदी, जितेन्द्र बान्तावा, ङावाङ नुरी शेर्पा, किशोर बुढाथोकी, प्रकाश गौतम र हरि दुलालले सामूहिक मुण्डन समेत गरेर विरोध जनाएका छन् ।
नेपालमा बलत्कारीलाई फाँसी दिइनुपर्छ भन्ने आवाज जताततैबाट उठिरहेको छ । तर नेपालले फाँसी दिने गरी कानून बनाउन पाउँदैन भन्दै अन्तराष्ट्रिय कानूनमा अनुमोदन गरिसकेको तर्क अघि सारिएको छ । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेपनि नेपालको संविधानको धारा १६(२) मा कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानून बनाइने छैन भनिएको छ ।
अझ संविधानको विषय त संशोधन गर्न सकिएला तर अन्तराष्ट्रिय कानूनमा रहेको भियना सम्मेलनमा नेपाल पक्षराष्ट्र भइ हस्ताक्षर गरिसकेको हुनाले नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन नसक्ने तर्क पनि अगाडि सारिएको छ । अन्तराष्ट्रिय कानून सबै राष्ट्रको बाध्यकारी भएको हुनाले पक्षराष्ट्र भएको नेपाल यो कानून मान्न बाध्य हुन्छ भने अन्तराष्ट्रिय कानूनसँग राष्ट्रिय कानून बाझिएमा बाझिएको हदसम्म राष्ट्रिय कानून बदर हुने व्यवस्था छ ।
अपराधीहरूको पनि बाँच्न पाउने अधिकारलाई नेपालको संविधानले नै मान्यता दिएको छ । तर जघन्य अपराध गर्नेलाई किन बाच्न प¥यो ? भन्ने कुरा उठ्न सक्ला । त्यस्तो कुरा उठ्नु स्वभाविक हो अपराधीलाई फाँसी दिँदैमा सबै अपराधहरू सुन्य हुन्छन् भन्ने छैन ।
कञ्चनपुरमा भएको निर्मला बलात्कार काण्डमा पक्राउ गरिएका व्यक्तिलाई फाँसी दिइएको भए अवस्था कहाँ पुग्थ्यो ? त्यसैले फाँसीको व्यवस्था हुँदैमा अपराधी सजायको दायरामा आउँछ भन्न सकिदैन । भारतमा पनि बलात्कारीलाई मृत्यु दण्ड दिने व्यवस्था छ । तर त्यही देशमा किन यति धैरै बलात्कारका घटनाहरू देखिन्छन् ?
फाँसीको सजाय भन्दा पनि देशमा जबसम्म प्रत्येक पुरुषले नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्दैन तब सम्म यस्ता घटना दोहोरिइरहने छन् । प्रत्येक नेपालीलाई चेतनामुलक शिक्षाको जरुरत छ । यसकालागि सरकारले ध्यान दिनु पर्छ कानुनमा मात्र कडाई गरेर हुदैन । नत्र सरकारले कानुन बनाउने सर्वसाधारणलाई थाहा नहुने हुँदा यस्ता अपराधीक घटनाहरूमा कमी हुने आशा गर्न सकिदैन ।


















