पदक पाउनेको सूचीबाट आफ्नो नाम हटाउँदाको खुशी

614

-निमकान्त पाण्डे

सरकारका तर्फबाट राष्ट्रपतिले विभिन्न व्यक्तिहरूलाई दिएका पदकको विषय अहिले निकै चर्चामा रहेका बेला मलाई पदक पाउनेहरूको सूचिमा आफ्नो नाम पर्दाको सम्झना भइरहेको छ । यदि यो चर्चा सम्मानित हुने व्यक्तिहरूको योगदानलाई लिएर भएको भए सायद सामान्य नै हुने थियो जस्तो लाग्छ । सून्य योगदानमा खल्तीका मान्छेहरूलाई राष्ट्रिय सम्मान दिने सरकारी निर्णयका कारण यो विषय चर्चा भन्दा पनि विवाद र बहसको विषय बन्न पुगेको हो जस्तो लाग्छ । स्थिति यस्तो बनेको छ कि सामाजिक रूपमा बदनाम भएका व्यक्तिहरूसमेत सरकारी सम्मानको हकदार बनाइएका छन् । यो स्थितिले गर्दा सम्मान पाउन लायक कतिपय व्यक्तिका लागि पनि सरकारी सम्मान ग्रहण गर्न अप्ठेरो परेको देखिन्छ । यही कारणले कतिपयले सम्मान अस्वीकार गरिदिएका छन् ।

आफ्नो योगदानबापत सरकारले गरेको सम्मान अस्वीकृत गर्नुपर्ने अवस्था किन आयो ? यो सरकारले सोच्नुपर्ने विषय हो । तर विगतदेखि वर्तमानसम्म आइपुग्दा सरकारसँग निकट वा पहुँचमा हुनेका खल्तीका मान्छेलाई पदक दिने परिपाटीले गर्दा सरकारले दिने सम्मान सम्मानजनक हुन सकिरहेको छैन । अझ अनौठो विषय त के भने सम्मान दिनेलाई त योगदानको कदर र कस्तो व्यक्तिलाई सम्मान दिनुपर्छ भन्ने हेक्का छैन नै, सम्मान थाप्नेलाई पनि आफूले के काम गरेबापत सम्मान मिलेको हो भन्नेसम्म पनि थाहा भएको पाइँदैन । सम्मानको कारण नै थाहा नभएका व्यक्तिलाई पनि सम्मान थाप्न कुनै अफसोच पनि भएको पाइँदैन । राजतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पदक वितरण र पदकका लागि छनोट गर्ने प्रकृया हेर्दा ‘लाटा देशमा गाँडा तन्नेरी’ भन्ने उखान ठ्याक्कै मिल्न जान्छ । राजतन्त्रमा गोदवा र गणतन्त्रमा पदक ! नाममा भिन्नता मात्र छ, अरु सबै समान ।

पदकका विषयमा बहस भइरहँदा यो पंक्तिकारका यस्ता विषयमा केही पुराना अनुभव रहेका छन्, जसलाई यहाँ प्रस्तुत गर्दा उपयुक्त नै हुनेछ ।

राजा ज्ञानेन्द्र शाहले शक्ति आफ्नो हातमा लिएपछि पंक्तिकारको नाम पनि गोरखा दक्षिण बाहु पाउनेको सूचिमा परेको जानकारी प्राप्त भएको थियो । तत्कालीन राजाका सम्वाद सचिव योगेश्वर कार्कीले यसबारेमा पंक्तिकारलाई टेलिफोनबाट बधाईसहित जानकारी गराउनुभयो । यो जानकारी पाएपछि पंक्तिकारलाई भने निकै छट्पटी भएको थियो । राजाको मण्डलेकरण कदमको आलोचना गरिरहेको म जस्तो एउटा सञ्चारकर्मीले गोरखा दक्षिण बाहु पाउनुपर्ने कुनै कारण नभएको कुरा मैले संवाद सचिव कार्कीसंग अनुरोध गरें । विद्यार्थीकालदेखि नै वामपन्थी विचारबाट प्रशिक्षित र प्रभावित हुँदै आएकाले राजतन्त्रप्रतिको आफ्नो धारणा सकारात्मक कहिले पनि थिएन । राजाले शक्ति आफ्नो हातमा लिएका बेला माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । त्योबेला राष्ट्राध्यक्षको हैसियतले युद्धरत पक्षसंग सवांदको पहल हुनुपर्छ भन्ने आशयको सम्पादकीय जनधारणा साप्ताहिकमा मैले लेखेको थिएँ । त्यसपछि राजको कदम उल्टो गतितर्फ जान थालेपछि राजाको कदमको विरोध निरन्तर रूपमै गरियो ।

माओवादी युद्धकालको उत्कर्षको समयमा नेपाली कांग्रेस१ र नेकपा एमालेबाट भइरहेका राष्ट्रघाती सन्धि सम्झौताहरू एकपछि अर्को गर्दै सतहमा आइरहेका थिए । विदेशी नागरिकहरूलाई नेपाली नागरिकता उपलब्ध गराउने दुराशयका साथ नागरिकता विधेयकलाई अर्थ विधेयकका रूपमा संसदबाट पारित गराइएको अवस्थामा राजा वीरेन्द्रबाट सुझावका लागि सर्वोच्च अदालतमा पठाएर त्यसलाई असफल गराइएको थियो । यो घटनासंगै युद्धरत माओवादी पक्षले पनि देशमा व्याप्त बेथिति, विसंगति, राष्ट्रघाती र जनविरोधी क्रियाकलापका विरुद्धको आवाजलाई हिंसात्मक मोड दिएर देशव्यापी जागरण फैलाएको थियो । राष्ट्रघाती नागरिकता नीति लागू गराउन खोज्ने कांग्रेस र एमालेका विरुद्ध माओवादी र राजा वीरेन्द्रको धारणा मिल्न गएको थियो । दरबार हत्याकाण्डपछि बदलिएको परिस्थितिबीच राष्ट्र बचाउने सवालमा युद्धरत पक्ष माओवादीसंग राजाले सत्ता सञ्चालन गरिरहेको अवस्थामा माओवादीका एजेण्डाहरू कार्यान्वयनमा ल्याउँदै सहकार्यको वातावरण बनाएर जानुपर्ने सुझाव राख्दै आएको अवस्थामा मलाई गोरखा दक्षिण बाहुको आवश्यकता थिएन । युद्धरत पक्षलाई समेटेर जानुपर्ने सुझाव राख्दै आएको अवस्थामा राजाको मण्डलेकरण अभियान मेरो लागि स्वीकार्य विषय थिएन । यसरी राजाको कदमको विरोध गरिरहेको व्यक्तिलाई गोदवा(पदक) दिँदा आवाज बन्द गराउन सकिन्छ भन्ने आसयले उक्त पदक दिइएको पनि हुन सक्ने पंक्तिकारको बुझाई रह्यो । पंक्तिकारले संवाद सचिवलाई उक्त पदकका लागि आफू उपयुक्त पात्र नभएको अनुरोध सुनाए पनि संवाद सचिवले भने राजाबाट निर्णय भइसकेकाले त्यो अस्वीकार गर्दा राजाको अपमान हुने जानकारी गराए र निर्णय फिर्ता नहुने जवाफ दिए । त्यसपछि यो पंक्तिकारले उक्त पदक नलिनका लागि अन्य उपाय खोज्नैपर्ने भयो । त्यस समयका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मामार्फत विशेष पहल गरेर गोरखा दक्षिण बाहु (पदक) पाउने सूचीबाट आफ्नो नाम हटाउन सकेकोमा पंक्तिकारलाई निकै सन्तुष्टि मिलेको थियो । त्यही वर्षको घोषित गोदवा अस्वीकार गर्दै सहकर्मी वरिष्ठ पत्रकार युवराज घिमिरेले प्रेस विज्ञप्तिसमेत जारी गर्नुभएको थियो । हालका दिनहरूमा घिमिरेको कलमले के लेखिरहेको छ ? सबैलाई थाहा भएकै विषय हो ।

राजतन्त्रका बेला गोरखा दक्षिण बाहु आफैमा सम्मानित पदक मानिन्थ्यो । यदि यो पंक्तिकारमा लोभ जागेको भए राजाले दिने सम्मान थाप्न सक्थ्यो । तर सम्मान त्यतिबेला मात्र सम्मानित हुन्छ जब त्यो सम्मानको महत्व व्यक्तिको मनोभावमा मात्र नभएर समग्र समाजका अगाडि पनि स्वाभाविक र सम्मानित हुन सक्छ । आज सम्मान दिने र सम्मान लिने दुवैलाई व्यक्तिगत रूपमा के कति सन्तोष मिलेको छ, पंक्तिकारलाई जानकारी छैन । तर समाज र आम मानिसहरू सम्मान दिने र लिने दुवैप्रति सम्मान जनाउने अवस्थामा छैनन् । बरु जसले सम्मान अस्वीकार गर्ने आँट गरे, समाजका अगाडि उनीहरूप्रतिको विश्वास र सम्मान थप बढेको महसुस गर्न सकिन्छ ।

कतिपय अवस्थामा तत्कालीन परिस्थितिले पनि सम्मानको महत्वलाई प्रष्ट पार्छ । तर अहिले सम्मान दिने र लिने प्रवृत्ति हेर्दा सम्मान पाउन त्यसका लागि लायक काम गर्नुपर्छ भन्ने छैन । जसले चाकडी पु¥याउन सक्छ, जसले भ्रष्टाचार गरेको विरोध जनाउँदैन, बरु हिस्सेदार बन्न सक्छ । त्यस्तैले नै यस्ता खालका सम्मान पाउने अवस्था विकसित भइरहेको छ । राजतन्त्रमा यस्तो अवस्थालाई स्वाभाविक मानिएन भने आज गणतन्त्र भनिएको व्यवस्थामा झन् यस्तो खालको सम्मानलाई स्वीकार गर्नु सरासर गलत हो भन्ने मलाई लाग्दछ । ‘जसको शक्ति उसैको भक्ति’ भनेजस्तै जसको पहुँचमा जो छ उसैले सम्मान पाउने अवस्था सिर्जना भइरहेको छ, आजको गणतन्त्रात्मक व्यवस्थामा समेत । त्यो सम्मान जुन सम्मानको समाजमा इज्जत नै छैन भने त्यो प्राप्त गनुको के अर्थ र वितरण गर्नुको के फाइदा ? हिजो राजतन्त्रमा त्यही भयो र आज गणतन्त्रमा पनि त्यही दोहोरिइरहने हो भने ठूलो बलिदानीबाट नयाँ व्यवस्था ल्याउनुको अर्थ नै के भयो र ? व्यवस्था परिवर्तन भएपनि संस्कार परिवर्तन भएन भने त्यो व्यवस्थामा व्यक्ति मात्र परिवर्तन हुने हो । त्यसले आम जनताको भावनालाई समेट्न सक्दैन । अहिले पदक वा तक्मा वितरणमा देखिएको विकृतिले यही कुराको संकेत गरेको छ । समाज परिवर्तनका लागि कुनै व्यवस्थाको परिवर्तनमात्र पर्याप्त हुँदैन । त्यसका लागि अग्रगामी सोच र योजनाको पनि खाँचो हुन्छ । नेपालको सन्दर्भमा व्यवस्था त परिवर्तन भयो तर सोच अझै पनि धेरै पुरानो नै छ । जसले गर्दा विश्वले विज्ञान र प्रविधिको माध्यमबाट अकल्पनीय विकासको फड्को मार्दासम्म हामी भाग्यमा विश्वास गर्दै ढुङ्गालाई पूजा गर्ने अवस्थाबाट माथि उठ्न सकेका छैनौं । राजतन्त्रबाट गणतन्त्रमा फड्को मारिसकेपछिको अवस्थामा उस्तै संस्कार किन अवलम्वन भइरहेको छ ? नेताजीहरूले बुद्धिको बिर्को खोलेर सोच्ने बेला भयो कि ? नेताजीहरूलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here