करीब ३०० वर्ष पुरानो देवी नाचलाई नयाँ पुस्ताले पुनर्जीवन दिदै

180

काठमाडौं  / कीर्तिपुरको करीब ३०० वर्ष पुरानो देवी नाचलाई नयाँ पुस्ताले पुनर्जीवन दिएका छन् ।

हजुरबुबा देवी बनेर नाच्दै कीर्तिपुरको गल्लीमा डुलिरहँदा दीलिप महर्जन चंगा बोकेर खुला चौरतिर दौडिन्थे ।

सानो छँदा दीलिपलाई बाजेले नाच्ने नाचप्रति कुनै रुचि थिएन । त्यो नाचको महत्व बुझ्ने प्रयास पनि गरेनन्, उनले । तर, २०५५ सालमा हजुरबुबाको मृत्यु भएपछि नाच नै रोकिने अवस्था आयो । हरेक वर्ष यही नाचले तताउने कीर्तिपुरको दशैंको माहोल सेलाएको भान हुन थाल्यो । त्यतिञ्जेल युवा भइसकेका दीलिप अघिल्लो पुस्तादेखि नै चल्दै आएको संस्कृति जोगाउन आफैं देवी बनेर नाच सिक्न थाले ।

“मलाई नाच्न आउँदैनथ्यो तर बाजे नभएपछि नाच नै लोप हुने अवस्था आएपछि जोगाउनुपर्छ भनेर साथीसँग मिलेर नाच्न थालें,” दिलिपले भने । नभन्दै पाँच महिनामा उनी पनि हजुरबा जस्तै नाच्न जान्ने भए ।

गुरुहरुबाट नाच सिक्दा उनी २२ वर्षका थिए । उनी कहिले ब्रम्हायणी बनेर नाचे त कहिले इन्द्रायणी । त्यस्तै कहिले भैरव बने ।

दीलिप अहिले ४२ वर्षका भए । यसबीचमा पुरै दुइ दशक देवी नाच नाचेरै बिताएका उनले टोलका युवाहरुलाई पनि यो नाच सिकाउन थालेका छन् । कीर्तिपुरको तःननी टोलमा रहेको ‘आखाः छेँ’ अर्थात् गुठीघरमा हरेक साँझ यो नाच सिक्न उल्लेख्य संख्यामा युवाहरु उपस्थित हुन्छन्।

नाचमा इन्द्रायणी, ब्रह्मायणी, भैरव, कवां, दागिनी, ख्या आदीका  एक÷एक र दुइ जना पों गरी आठ जना आवश्यक पर्छ । कोही बिरामी भएमा वा नाच्न नसक्ने अवस्था भएमा त्यसको ठाउँमा नाच्नका लागि अन्य युवा तयार पारिएको दीलिपले जानकारी दिए  ।  तीन सय वर्ष पुरानो मानिने यो नाच बडादशैंको दशमीको दिन कीर्तिपुरको टोलटोलमा र कोजाग्रत पूर्णिमाका दिन तःननी टोलमा देखाइन्छ ।

यो नाच देखाउने क्रममा गीत गाउनु पर्छ । २०१७ सालदेखि ८० वर्षे ज्ञानबहादुर महर्जनले यो नाचका लागि गीत गाउँदै आएका छन् । ज्ञानवहादुरसँग विभिन्न रागमा थुप्रै खाले गीत गाउने खुबी छ ।

उनले गाएको गीतकै सुर, तालमाा ‘देवी’हरु नाच्छन् । एउटा ग्वारा ९गीत० ४० देखि ४५ मिनेट लामो समय गाउनु पर्छ । ज्ञानबहादुरले भने, “पहिले तन्नेरी हुँदा जोशले गाउँथें, अहिले लामो समय गाउँदा दम बढ्छ । तैपनि जोश कम भएको छैन”

उनलाई सिकाउने गुरु र उनीसँगै गाउने र बजाउने उनका दौंतरीहरु धेरै जनाले यो संसार छाडिसके । अहिले युवापुस्ता उत्साहित भएर नाच सिक्न थालेको देख्दा उनलाई खुसी लाग्छ ।  नाच देखाउन बर्षेनी करिब चार लाख रूपैंया खर्च हुन्छ । आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको यो नाचलाई अहिले भने यहाँका जुझारु युवाको साथ मिलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here