प्रधानमन्त्रीको स्वघोषणा दुनियाँलाई नरुचेको हो कि नपत्याएको ?

150

–चन्द्रप्रकाश बनियाँ

सत्ता कब्जा गरेर होइन, जनताको मन जितेर चीनमा कम्युनिष्ट पार्टीले यति लामो समयसम्म शासन गरेको हो भनेर चिनीया राष्ट्रपति सी जीनपिङले नेपाली कम्युनिष्टहरूलाई जानकारी गराएछन् रे । जनताको मन जित्न सर्वप्रथम जनताको मन बुझ्नु पर्छ । जनताको मन बुझ्न जनताको आवश्यकता, पीरमर्का र असुविधा बुझ्नुपर्छ । जनताको आशा अपेक्षाको जानकारी लिनसक्नु पर्छ । नेपाली कम्युनिष्टहरू जनताको मन पढ्ने मामलामा निकै कमजोर देखिए । गत आम निर्वाचनमा नेपाली मतदाताहरूले मन खोलेर नेकपा डबललाई मत दिए । दुई तीहाई बहुमतसहित सत्तारोहण गराइदिए । नेपालीहरूलाई कम्युनिष्ट सरकारबाट राम्रो प्रतिफलको आशा थियो । तर जनअपेक्षा पूरा हुनसक्ने लक्षण देखिएन । यतिखेर जनतामा देखिएको असन्तुष्टि त्यही हो । कमसेकम जनताका बीचमा गएर गरिएको सामाजिक सुरक्षा भत्ता मासिक पाँचहजार पु¥याउने एउटा वाचासम्म पूरा गरेका भए सरकार यतिसाह्रो अलोकप्रिय हुदैनथ्यो । रोजगारीका धेरथोर अवसर सिर्जना गर्न सकेका भए, कृषिकर्मप्रति मानिसको रुचि जगाउने ससाना कार्यक्रमहरू अघिसार्न सकेका भए जनता चिढिने थिएनन् । नेपालीहरूलाई रेल र पानीजहाजको स्वैर सपना देखाउनै पर्दैनथ्यो । मुखमा माड लाग्ने जोहो गर्न मुश्किल पर्ने समाजलाई रेल र पानीजहाजको सपना देखाएर जिल्लाउनु धर्मशास्त्रहरूले मरेपछि स्वर्ग जाने कुरा गरेर मानिसहरूलाई लोभ्याउनु जस्तै थियो । त्यस्तै ससाना कुरामा सरकारको ध्यान जान सकेका भए यतिखेर चिनीया नेताले जनताको मन जित्नुपर्ने उपदेश दिनुपर्ने खण्ड उपस्थिति हुने पनि थिएन ।

चिनीयाँ नेताले नेपाली नेताहरूलाई यसपटक गतिलै नैतिक शिक्षाको पाठ पढाएर गएछन् । हुनत मुढ चेलोलाई ज्ञानगुनको कुरा सुनाउनु भित्तालाई रामकथा सुनाउनु जस्तै हो । ‘लातको भूत वातले तह लाग्दैन’ भन्ने कुरा सीलाई जानकारी नहुन पनि सक्छ । जानकारी रहेछ भने पनि सीले गर्न सक्ने कुरा के थियो र ? उनले जे गर्नसक्थे त्यो गरे बिचरा ! अर्थात “तँ त साह्रै नै बिग्रेछस् बद्रि” भनेझै नेपाली कम्युनिष्टहरूको गतिछाडा प्रवृत्तितिर इङ्गित गरेका मात्र हुन् । दण्डित गरिहाल्ने हैसियत उनको थिएन । सुनेर नजान्नेहरूले अरुको देखेर जान्दछन् । देखेर पनि नजान्ने मान्छेले कहिल्यै प्रगति गर्दैन भनिन्छ । नेपाली कमयुनिष्टहरूको हालत दुरुस्तै त्यस्तै छ । यतिखेरसम्म आइपुग्दा कम्युनिष्ट आन्दोलन जुन गतिमा पतनमार्गतिर चिप्लँदै छ त्यसको पतनगति रोकिने सम्भावना विल्कुल सून्य छ । पहाडको टुप्पोबाट विभिन्न वजन र आकारका ढुङ्गाहरू एकैसाथ गुक्र्याउने हो भने जुन ढुङ्गो सबभन्दा ठूलो र वजनदार छ त्यो उत्तिकै दु्रत गतिमा गुढ्छ र सबभन्दा तल पुग्छ । नेपालका कम्युनिष्ट घटकहरू सबै पतनमार्गमा छन् तर सबभन्दा ठूलो नेकपा डबल स्वभावतः अरु भन्दा दु्रत गतिमा पतनमार्गतिर अग्रसर छ । पहाडको टुप्पोबाट गुल्टिएको ठूलो ढुङ्गो जसरी फेदीमै नपुगिकन रोकिदैन त्यसैगरी नेकपा डबल पनि पतनको अन्तिम विन्दु नछोइकन रोकिने लक्षण देखिनै । सीले सुध्रलान कि भनेर बाटो देखाउने सदाशय प्रदर्शन गरेका हुन् । सुध्रनुपर्ने, सच्चिनुपर्ने त नेपाली कम्युनिष्टहरू नै हो । सीहरूले “राम राम” भन्ने मात्रै हुन्, काँध थाप्न सक्दैनन् ।

सीले नेपाली कम्युनिष्टहरूलाई जीवनशैली सुधार्ने सल्लाह पनि दिए रे भन्ने सुनियो ! नेपाली समाजलाई बिझाएको विषयमध्येको एउटा त्यो पनि हो । कम्युनिष्टहरूले मिठो खान र राम्रो लगाउन हुदैन भनेको होइन । तर त्यसैका लागि सारा आदर्श तिलाञ्जली दिने कुरा जनताले नरुचाएका हुन् । धनलम्पट देखिनु सिद्धान्तच्युतिको विषय हो । सिद्धान्तबाट विचलित भएपछि चारीत्रिक अधपतन निम्तन्छ । चरीत्रहीन मानिसहरूको जति ठूलो पल्टन जम्मा भएपनि त्यसबाट समरविजयको कल्पना मृगमरिचिका मात्र ठहर्छ । अनावश्यक ठाँटबाँटको लिप्साले अवैध आर्जनतिर उत्प्रेरित गर्दछ । एकपटक लत लागेपछि त्यसबाट छुटकारा पाउन कठिन हुन्छ । अर्थात ठाँटबाँटको जीवनशैलीले सदाकाल अवैध धन्दामा संलग्न रहन वाध्य बनाउँछ । नेपाली कम्युनिष्टहरूमा हुर्कदै गएको दोश्रो बाटोबाट धनआर्जन गर्ने लत साझा संस्कृति बन्नुको कारण त्यही हो । वडा तहको सदस्यदेखि प्रधानमन्त्रीसम्म र एरिया सचिवदेखि पार्टीको अध्यक्षसम्म सबैको पेटमा धेरैथोरै अवैध आर्जन परेको छ । त्यसबाट विरत र चोखो सायदै कोही होला । नेकपाको सिङ्गो संगठन भ्रष्टाचारको दललदलमा चुर्लुम्म डुबेको छ । सीको एकैदिनको उपदेशले त्यसलाई रसातालबाट मुक्त गर्न सफल होला भनेर आशा गर्नु र श्रीमद्भागवत पाठ गरिदनिाले अगति परेको आत्माले मुक्ति पाउँछ भन्नु उस्तै उस्तै हो ।

कालो बादलमा चाँदी घेरा देखापरे जस्तो प्रधानमन्त्री ओलीले गृहनगरतिर कता हो आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गर्ने घोषणा गरेको हल्ला सार्वजनिक भएको छ । हल्ला गर्नका लागि मात्र हल्ला गरिएको हो कि नियत असल हो भन्ने कुरा भविष्यले बताउला । तर त्यति महत्चपूर्ण कुराको वागदानलाई नेपाली समाजले भने चर्चाको विषय नै मानेन । सायद नेपाली समाजले त्यो भीष्म वाचा पत्याउनै सकेन । अथवा प्रधानमन्त्रीको बोलीलाई विश्वासयोग्य नै ठानेन । आफ्नो श्रीसम्पत्ति सारा श्रीमतिको नाममा राख्ने कम्युनिष्ट नेताहरूको आम प्रचलन त्यसको कारण हुनसक्छ । एकजना ठूलै नेताले झण्डै एक किलो बराबरको सुन बुहारी र श्रीमतीको दाइजोमा आएको भनेर सम्पत्ति विवरणमा उल्लेख गरेको कुरा सार्वजनकि भएको हो । प्रधानमन्त्रीको सम्पत्तिको ठूलो हिस्सा माइतीको दाइजोमा रूपान्तरित नहोला भनेर समाजले पत्याउने आधार देखेन कि ? त्यसो हुने हो भने प्रधानमन्त्रीले आफ्नो नाममा हुदै नभएको सम्पत्ति राज्यलाई समर्पण गर्छु भन्नुको के अर्थ रहन्छ र ?

पैसाको मामलामा महादेवको पनि तेश्रो नेत्र खुल्छ भनिन्छ । धनको माया कसलाई लाग्दैन र ? अवैध आर्जन भए पनि मानिसको पसिनाको कमाइ नै हो । परिश्रमको प्रतिफल सबैका लागि उत्तिकै प्रिय हुन्छ । तर आना सुका नै भएपनि बचेको सम्पत्तिमा राज्य हकदार हुने व्यवस्था गर्छु भन्ने सदाशय देखाउनु सकारात्मक कुरा नै थियोे । त्यो त निर्लोभको उच्च दृष्टान्त हो । मान्छेले पत्याएन । नेपालीसमाजले विश्वासै गरेन । प्रधानमन्त्रीले ढाँच कुरा कसरी गर्लान भनेन । त्यसको अर्थ प्रमको बोली देशले पत्याउनै छोडिसकेछ । राजनेताका लागि जनताको विश्वास गुमाउनुभन्दा ठूलो नोक्सानी अर्को केही हुनै सक्तैन । प्रधानमन्त्रीको घोषणा एउटा अनुशरणीय र प्रशंसनीय उदाहरण हो । तर नीति निर्माणको तहमा रहने मान्छेले आफुले आदर्श देखाएर मात्र पुग्दैन । आफू हिड्ने बाटो त जसले पनि बनाउँछ । समाज डोरिने बाटो बनाउनु पो विशिष्टता हो । आफूले सुरु गरेको कार्यलाई समाजले अनुशरण गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । चारदशक अगाडि विपी कोइरलाले आफ्नो अन्तिम संस्कार (हिन्दू रीतिको किरियाकर्म) नगर्नु भनेर गएका थिए । उनको किरिया गरिएन । वास्तवमा कोइरालाको चेष्टा गतिलो सांस्कृतिक सुधारको उदाहरण थियो । तर उनको असल कर्म समाजको लागि अनुशरणीय बनेन । उनको पार्टीको लागि मात्रै होइन, उनकै परिवारका लागि पनि अनुकरणीय बनेन । उनकै कान्छा भाई गिरिजाप्रसाद कोइरालाको एक ठाउँ होइन, दुई दुई ठाउँमा एकैसाथ हिन्दू रीतिको किरिया गरियो । कमसेकम विपीको परिवारले असल संस्कारको अुनपालन गरिदिएको समाजका लागि उदाहरण बन्ने थियो । अर्थात विपी कोइरालाले सुरु गरेको संस्कार सुधारको प्रयत्न खेर गयो । यसपटकको प्रधानमन्त्रीले गरेको स्वघोषणाको हविगत पनि त्यही हुने छ ।

बोलिरहने तर गरिनपु¥याउने चरीत्रको रूपमा प्रधानमन्त्रीले नेपाली समाजमा आफ्नो चिनारी बनाएका छन् । उनी स्वप्नद्रष्टा हुन् तर उनले देख्ने देखाउने सपनाहरू यथार्थमा रूपान्तरण हुदैनन् भनेर समाजले बुझ्न थालेको छ । प्रधानमन्त्री जे बोल्छन् त्यो गर्दैनन् । गर्न सक्तैनन् । कुनै योजना कार्यन्वयन गर्न आवश्यकपर्ने पूर्वतयारी उनले गर्दैगर्दैनन् । बोल्ने बेलामा आफू कुन विषयमा बोलिरहेको छु भन्ने कुराको हेक्का रहँदैन । आफूले बोलेको कुरा पूरा गर्न कति समय लाग्छ, केकस्तो र कुन परिमाणको साधनश्रोतको आवश्यक पर्छ भन्ने कुराको अनुमान उनले पटक्कै गर्दैनन् । सायद त्यसरी हिसाब गर्ने क्षमताको नितान्त अभाव छ । त्यसैले समाजमा उत्साह जगाउने विषय र योजना अघि सारेकै भएपनि ती सबै गँजडी गफ थिए भन्ने कुरा प्रमाणित भैसकेको छ । उनले बोलेजस्तो काम सजिलो भैदिएका भए यतिखेरसम्म नेपालमा उत्तरदक्षिण, पूर्वपश्चिम रेल दगुरिसक्थे । पानीजहाज आइसक्थ्यो । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here