महरा काण्डले नेपालको कानून अपूरो र कमजोर रहेछ भनेर प्रमाणित गरिदिएको छ !

7

– चन्द्रप्रकाश बानियाँ

खराब संगतले मानिसलाई डुबाउँछ । महाभारत कथाका एकजना महत्वपूर्ण पात्र कर्ण विद्वान्, बुद्धिमान्, वीर, बहादुर, विवेकवान् र महादानी थिए । दुर्योधनको संगतले उनलाई पनि कलंकित बनायो र अर्जुनको हातबाट ज्यान समेत गुमाउनुपर्ने अवस्थामा पु¥यायो । पूर्वसभामुख माननीय कृष्णबहादुर महरा पनि त्यही नियतिको शिकार भएभन्दा फरक पर्दैन । उनलाई थलापारेको अवैधानिक सम्बन्धले मात्र हो भन्न मिल्दैन । उनलाई धराशायी बनाउने कारण उनले गरेको गलत संगत हो । सम्बन्ध राख्ने पात्रको चयन गलत हुनाले दिव्य चार दशकको तपस्या र अनुष्ठानबाट आर्जन भएको शक्ति र प्रतिष्ठा दुवै एकै झमटमा धराशायी भयो । सिसाको महलझै फुटेर गल्र्यामगुर्लुम्म ढल्यो । राजनीतिक जीवन पूर्णरूपमा समाप्त भयो भयो, सामाजिक प्रतिष्ठा पनि शून्यमा झ¥यो । घृणा र अपमानको पात्र बनायो । ‘नैतिकता हराएपछि सर्वस्व समाप्त हुन्छ’ भन्ने लोकप्रसिद्ध अंग्रेजी उक्ति सत्यमा रूपान्तरित भयो । राजनीतिक सफलताको शिखरबाट फेदीमा पछारिएका महरा फेरि उठ्ने छैनन् । अदालतबाट अभियोगमुक्त भएछन् भने पनि पुनः शिखर चुम्न किमार्थ सफल हुनेछैनन् ।

अपराध प्रमाणित होस् कि नहोस्, अदालतले खतुकी सावित गरोस् कि नगरोस्, समाजको मूल्यांकन नकारात्मक भयो भने त्यसले ठूलो खति पु¥याउँछ भन्ने कुराको गतिलो उदाहरण नेपालको राजसंस्था बनेको थियो । जेष्ठ १९ को दरबार हत्याकाण्ड रहस्यको गर्भमै दबेको छ । विडम्बना नै भन्नुपर्छ कतैबाट पुष्टि नभए पनि उक्त हत्याकाणडमा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको अनुमान तत्कालीन नेपाली समाजले ग¥यो । आफैले गरेको अनुमान सत्य हो भनेर मान्यो । परिबन्दले नै सही अप्रमाणित कर्तव्यको दोषभागी शाहलाई बनायो, समाजले आफैले फैसला ग¥यो । दण्ड सुनायो । कानूनले दण्डित गर्ने कुरा थिएन गरेन, तर जनमतले तिरस्कार ग¥यो र गद्दीच्युतिलाई दैवीदण्ड भनेर मान्यो । समर्थन ग¥यो । महरा पनि त्यो नियतिबाट मुक्त हुन सक्ने छैनन् । देशको कानून र अदालतले निर्दोष प्रमाणित गरेछ भने पनि जनअदालतले दोषी मान्नेछ र आफ्नो किसिमले दण्डित गर्नेछ ।

नेपालको राजनीति अनैतिकताको दृष्टिले बद्नाम छ । ज्ञानेन्द्र शाहको राज्यकालमा नेपाली काँग्रेसका केही नेताहरूलाई भ्रष्टाचारको अभियोग लाग्यो । लामो छानविनपछि अदालतमा मुद्दा दायर भयो । अदालतले उनीहरूलाई दोषी ठह¥यायो । दण्डित ग¥यो । अख्तियार र अदालतबाट डामिएका उनीहरूको राजनीतिक जीवन समाप्त भयो । आग्रह पूर्वाग्रहको कारणबाट डामिएका हुन् कि भनेर अनुमान गर्नेहरूको संख्यामा पनि नेपाली समाजमा सानो थिएन तर उनीहरू पूर्णरूपमा अपराध मुक्त थिए भनेर कसैले पत्याएन । त्यसकारण पनि उनीहरूको सामाजिक जीवन समाप्त भएको हो । यतिखेर त्यही लाइनमा उभिन महरा आइपुगेका छन् । अवश्य, अपराधको प्रकृति फरक थियो । कानूनले तोक्ने दण्डसजाय पनि फरक होला तर सामाजिक जीवनमा नैतिकताको कालोपोतो दलिएपछि न त्यो धोइपखाली सफा गर्न सकिने हुन्छ न समाजले त्यसलाई बिर्सन सक्छ ।

माननीय महराले अदालत समक्ष आफ्नो अपराध सकारेका छैनन् । प्रमाणले उनलाई दोषी सावित गर्ला वा नगर्ला त्यो त समयले बताउला । दसी प्रमाणले दोषभागी ठहरिए कानूनी कारवाहीका भागिदार बन्लान् । अदालतले निर्दोष प्रमाणित गरिदिए पनि उनको गुमेको सामाजिक प्रतिष्ठा पुनःस्थापित हुनेछैन । महरालाई षड्यन्त्रपूर्वक फसाइयो भनेर सहानुभूति प्रकट गर्नेहरू पनि समाजमा नरहेका होइनन् । त्यस्तो नहोला भन्न पनि सकिन्न । तर फर्सीभित्र किरा पर्न बाहिरको घाउ चाहिँदैन भनिन्छ । बाहिर दाग देखिएन भन्दैमा कुहेको फर्सीलाई सद्दे भन्न मल्दिैन । अर्थात् अदालतबाट सफाइ पाए पनि महराको सामाजिक जीवनले सञ्जीवनी पाउँदैन । पाउनु पनि हुँदैन । किनकि यतिखेर त कानून लागेको मात्र हो । उनको अनैतिक जीवनको सुरुवात आजको हो भन्न मिल्दैन । हाम्रो समाजमा भन्ने सुन्ने गरिँदै आएको लोककथन ‘पाप धुरीबाट कराएको’ भनेजस्तो मात्र हो ।

अवश्य शुभचिन्तकहरूले कठै भन्लान्, टिठाउलान् । अन्यायमा पारियो भनेर थकथकाउलान्, सहानुभूति प्रकट गर्लान् । महराको राजनीतिक जीवनको अवसानमा आँसु चुहाउने, दुखमनाउ गर्नेहरू पनि होलान् तर समाजका लागि भने महराकाण्ड एउटा सकारात्मक उदाहरण पनि हो । पद, प्रतिष्ठा र शक्तिको आडमा अनैतिक कर्ममा संलग्न रहने प्रवृत्तिलाई गतिलो चेतावनी पनि हो । त्यसअर्थमा महरा नैतिक रूपमा दण्डित हुनु समाजका लागि लाभदायक घटना बनेको छ भन्नु अत्युक्ति ठहरिँदैन । यो घटनाले धनमत्त, बैंसमत्त र सत्तामत्त भएर भुई हेर्न बिर्सने प्रवृत्तिलाई तर्साउने छ । समाजलाई नैतिक मूल्यको ख्याल गर्नुपर्ने पाठ सिकाउने छ । अनैतिकातिर उन्मुख हुँदै गएको समाजको अधोगतिमा ब्रेक लाग्नेछ । एकजना महराको सामाजिक राजनीतिक जीवनमा ग्रहण लागे पनि समाजका लागि त्यो अनुपम उदाहरण बन्नेछ । त्यसअर्थमा महराका लरबरिएका पाइलाहरू समाजका लागि भने असल पथप्रदर्शनका कारण बन्ने छन् ।

‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि !’ महरालाई अनैतिकताको खाडलमा धकेल्ने महिलासँगको सम्बन्ध भने नयाँ होइन रहेछ भन्ने कुरा सार्वजनिक भएको छ । तत्कालीन कुनै असहमति वा असन्तुष्टिको कारणले पुरानो सम्बन्ध तिक्त मोडमा पुगेको रहेछ । त्यही कारणले हुनुपर्छ, यो घटनालाई उदाहरण बनाएर त्यस सम्बन्धी कानून परिमार्जन गर्नुपर्ने धारणा पनि सामाजिक सञ्जालमा बाक्लै सार्वजनिक भएको देखिन्छ । तर अलिकता गम्भीरतापूर्वक चिन्तन गर्ने हो भने यो घटनाले नेपालको कानून अझै कमजोर र अपूरो रहेछ भन्ने प्रमाणित हुन्छ भन्ने निष्कर्षमा पुगिँदो रहेछ । उदाहरणको लागि पश्चिमी समाजको एउटा ताजा घटनालाई लिन सकिन्छ ः

‘म्याक्डोनाल्डस्’ नेपाली समाजको लागि अपरिचित नाम होइन । अमेरिकाको लोकप्रिय त्यही चमेनागृह सञ्जालले हालसालै नैतिकताको एउटा उदाहरण प्रस्तुत गरेको छ । कम्पनीका बहालवाला सफल र लोकप्रिय कार्यकारी प्रमुख इष्टरबु्रकलाई मातहतकी महिला कर्मचारीसँग प्रेमसम्बन्ध राखेको अभियोगमा बर्खास्त गर्ने निर्णय म्याकडोनाल्डस्को बोर्ड बैठकले ग¥यो र खतुकीले पदबाट राजीनामा समेत गरिसकेका छन् ।

लेविन्स्की काण्डमा बहालवाला राष्ट्रपतिले पद गुमाउनु नपरेको उदाहरण अमेरिकी राजनीतिको इतिहास बनेको छ । बहुपत्नीका शौखीन उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गरेको उदाहरण पनि अमेरिकामा स्थापित छ तर म्याक्डोनाल्डस् एउटा प्राइभेट कम्पनी भएर पनि कार्यकारी प्रमुखले आफू मातहतकी महिला कर्मचारीसँग प्रेमसम्बन्ध राख्न नपाउने नियम बनाएको रहेछ । त्यही नियम उल्लंघन गरेबापत बु्रक कारवाहीको भागिदार बनेका रहेछन् । यौन नैतिकताको मामलामा उदारजस्तो देखिने पश्चिमा समाजमा पनि यस्तो विषयलाई व्यवहारमा गम्भीरताका साथ लिइन्छ । लेविन्स्कीकाण्डमा बद्नाम भएका पूर्वराष्ट्रपतिले महाभियोगको सामना गर्नु नपरेको होस्् वा वर्तमान राष्ट्रपतिको बहुपत्नी लिप्सा दण्डित नभए पनि चुनाव जित्नसक्ने सम्भावना मानिएका कैयौं नेताहरू अनैतिक सम्बन्धका कारणले निर्वाचनको मैदानबाट पछि हट्नुपरेका उदाहरणहरू पनि अमेरिकी इतिहासमा सुरक्षित छन् ।

बर्खास्तगीमा परेका म्याक्डोनाल्डस्का कार्यकारी प्रमुखको पहिली श्रीमतीसँग औपचारिकरूपमै पारपाचुके भैसकेको रहेछ । यतिखेर मातहतकी महिला कर्मचारीसँग प्रेमसम्बन्धमा रहेको कुरा उनले लुकाएका पनि होइन रहेछन् । महिला कर्मचारीका तर्फबाट कतै असन्तुष्टि वा उजुरी परेको पनि रहेनछ, सम्बन्ध आपसी सहमतिको नै रहेछ र पनि इष्टरबु्रक कारबाहीमा परे । दुरुस्तै त्यसैगरी महरा र रोशनीको सम्बन्ध पुरानो रहेछ । गोप्य सम्बन्धको सार्वजनिकीकरण महिलाको तर्फबाट भयो । सार्वजनिक भए पनि औपचारिक उजुरी नपरेका भए महराको कर्तुत कानूनी दायरामा पर्दैनथ्यो । उजुरी जाहेरी नपरेका भए अनैतिक सम्बन्ध सार्वजनिक भए पनि दण्डभागी हुनुपर्दैनथ्यो । नेपालको कानूनले महरालाई छुँदैनथ्यो । महराको सभामुख पद खोसिदैनथ्यो । समाजले विस्तारै त्यो घटना बिर्सन्थ्यो । उनको सार्वजनिक जीवन र प्रतिष्ठा पुनःस्थापित हुन्थ्यो । त्यसअर्थमा नेपालको कानून अझै कमजोर रहेछ । सार्वजनिक जानकारीमा आएको भए पनि जाहेरी उजुरी नपर्दासम्म अपराधीलाई कारवाही गर्न नेपालको कानूनले सक्दैन । कमजोर समाजका लागि कडा कानूनको आवश्यकता पर्दछ । त्यसैले आशय करणी वा जबर्जस्ती विरुद्धको नेपालको कानूनी व्यवस्था अपूरो रहेछ भन्नुपर्ने हुुँदो रहेछ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here