आलम मुद्दा प्रकरणमा नयाँ ट्वीस्ट ! मारिएको भनिएका जिउँदै भएको दाबी गर्दै अदालतमा निवेदन

186

काठमाडौं /  इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ गरिएका नेपाली कांग्रेसका सांसद मोहम्मद आफ्ताव आलमको मुद्दामा नयाँ ट्वीस्ट आएको छ।

सो काण्डमा मारिएको भनिएका ओसी अख्तर नमारिएको भन्दै उनकी पत्नीले अदालतमा निवेदन दिएपछि यो काण्डमा नयाँ ट्वीस्ट आएको हो। अख्तरकी पत्नी अमना खातुनले आफ्ना पति वैदेशिक रोजगारीमा गएको भन्दै अदालतमा निवेदन दिएकी हुन्।

पहिलो संविधानसभा निर्वाचनका बेला ओसी अख्तर र त्रिलोक सिंह बम बिस्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टमा जलाएर हत्या गरेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरुद्ध गत साता मुद्दा दायर गरेको थियो।

आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने या धरौटीमा छाड्ने भन्ने बहस जिल्ला अदालतमा भइरहेका बेला मृतक भनिएका ओसी अख्तर जिउँदै भएको दाबी गरिएको हो।

थुनछेकको बहस भइरहेका बेला त्यस्तो निवेदन परेपछि अदालतले पछि हेर्ने भन्दै अस्वीकार गरेको जनाइएको छ।

बिस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी आलमलगायतविरुद्ध अभियोगपत्र दायर गरिएको छ।

बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन्।

बिस्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here