‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको रोमान्टिक रुप

80

फिल्म ‘म यस्तो गीत गाउँछु २’ बाट नायक पल शाह र नायिका पूजा शर्माको पहिलो झलक सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएसँगै पल र पूजाको लुक्स सार्वजनिक भएको हो ।


फिल्ममा मुख्य रुपमा समावेश हुने यो गीतको भिडियो एक साता लगाएर छायाँकन गरिएको निर्देशक सुदर्शन थापाले बताए । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गीतको सुटिङ गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।


यो गीतका लागि मात्र करिब ५ सय कोरसलाई समावेश गरिएको निर्देशक थापाले जानकारी दिए । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । फिल्मका छायांकार सौरभ लामा हुन् । फिल्ममा पल र पूजासँगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सुदर्शन थापा र पूजा शर्माले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका हुन् । फिल्ममा पल र पूजाको जोडी दोहोरिएको छ । म यस्तो गीत गाउँछु मा हरेक गीतहरु सुपरहिट भएका थिए ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुनाको २३ गतेबाट रिलिज हुँदैछ । फिल्ममा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन दुई सातामा सकिने निर्देशक तथा निर्माता थापाको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here