हाइटीमा खाद्य असुरक्षा बढेपछि राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

184

एजेन्सी / लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । हालैका महिनाहरुमा यहाँको ठूलो जनसंख्याले खाद्यान्न अभाव झेलिरहेकोमा अब थप नागरिक यसको समस्यामा पर्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले केही दिनअघि प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन ९आइपिसी० प्रतिवेदनमा अहिले पनि यहाँका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । यो संख्या अरु बढ्न सक्ने र यसबाट आगामी केही दिनमै यहाँ संकटपूर्ण अवस्था आउन सक्ने पनि सो समाचारमा जनाइएको छ ।

सो प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्को गरी बढ्दै गएकोले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ ।

हाइटीमा केही महिनादेखि आन्दोलन भइरहेको छ । राजनीतिक अस्थिरताका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दिनहूँजसो विरोध प्रदर्शन हुने गरेकोले दैनिक प्रशासन सञ्चालन र बन्द व्यापारमा पनि असर परेको जनाइएको छ ।

आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नसक्ने उक्त प्रतिवेदनले औँल्याएको छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण भएकोले यसप्रति सबै गम्भीर हुनुपर्ने जनाएको छ । राजनीतिक अस्थिरताका कारण यहाँका विपक्षी दलहरुले महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरु जारी रहेका छन् ।

यसका कारण हाइटीमा आर्थिक उत्पादनमा असर परेको र खाद्यान्नको कमी हुने खतरा अहिलेको भन्दा झन् बढेको संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा जनाइएको हो । यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि यहाँको व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालयहरु पनि बन्द रहेका तथा अन्य प्रशासनिक लगायतका दैनिक कार्यहरु सञ्चालन गर्न पनि अप्ठेरो परेको अधिकारीहरुको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here