सप्तरीको छिन्नमस्तामा हालसम्ममा ५० प्रतिशत मत खस्यो

90

राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ वडा अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा हालसम्म ५० प्रतिशतले मतदान खसेको छ भने शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।

आज शनिबार बिहान निर्धारित समयमै मतदान सुरु भएको मतदान केन्द्र ‘क‘ का मतदान अधिकृत हरि पराजुलीले जानकारी दिनुभयो ।

निकै उत्साहका साथ विहानको बाक्लो हुस्सुमै मतदान गर्न महिला र पुरुष मतदाताहरु लाइनमा बसेका थिए । मतदान स्थल वरिपरि उम्मेदवारहरुको समर्थक, शुभचिन्तक, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

वार्ड नं. ७ हाटीसहित वरिपरि क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जारी मतदान स्थलको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुख, पर्यवेक्षक, सञ्चारकर्मीहरुले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो । पहिलो घेरामा नेपाली सेना, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो तथा मतदानस्थल भित्र सुरक्षार्थ नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।

उपनिर्वाचनका लागि छिन्नमस्ता ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको छ । उक्त वडा अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन ।

राजपा र समाजवादी पार्टीका तर्फबाट साझा उम्मेदवार प्रमिला देवी यादव, नेकपाबाट अच्छेलाल यादव, नेपाली काँग्रेसबाट शिवनारायण मण्डल, सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट दिनेशकुमार यादव, राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र स्वतन्त्र उम्मेदवार नुरहुसन मंसुरी चुनावी मैदानमा छन् ।

मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिए बमोजिमको अनुमति प्राप्त र आकस्मिक सेवा सम्बन्धी सवारी साधनहरु बाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टीको भागमा सवारी आवगमनमा बन्देज समेत लगाएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कुल एक हजार ४०३ मतदाता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here