राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद र स्वाभिमान

626

डा. टीकाराम पोखरेल

नेपाल भारत बीचको सीमा विवाद नयाँ विषय होइन । तर उतारचढाव भने बेलाबेला नयाँ जस्तो बन्छ । सीमाको एजेण्डा कहिले उग्रराष्ट्रवाद भएर आउँछ, कहिले समर्पणवाद भएर थन्किन्छ । यतिबेला फेरि राष्ट्रवाद उग्र भएर आएको छ । भारतले नेपालको भूमि आफ्नो नक्सामा हालेसँगै नेपाली राष्ट्रवाद ह्वात्तै मौलाएको हो ।

त्यसो त कालापानी र लिपुलेकको नारा त बेलाबेला लाग्ने गरेका थिए, तर लिम्पियाधुरा सधैँ छायाँमा रह्यो जब कि नेपालको सीमानाविन्दु लिम्पियाधुरा देखिन्छ । कालापानी राजनीतिमा लिम्पियाधुरा सीमा उहिल्यै भारतीय सेनाको रणभूमि भैसकेको थियो । नेपाली आँखा चिम्लिएर बसे । नेपालीहरु आँखा चिम्लेर बसेको परिणाम भारतले नक्सा नै बनाएर नेपाली भूमिमाथि धावा बोल्यो । जब भारतको नक्सा प्रकाशित भयो तब हाम्रो आँखा खुल्यो ।

नेपाली हामी अरुको भूभाग चाहँदैनौ, आफ्नो पनि छोड्दैनौ । यसमा राष्ट्रिय सहमति छ विवाद छैन, तर लिने कसरी यसमा भने अन्यौलता कायम छ । नेपाली अधिकारीहरुको कहिले सुतेर बस्ने कहिले अलि कडै रुपमा प्रस्तुत हुने तरिका देख्दा कस्तो पनि लाग्छ भने मानौँ नक्सामा नहाली जति अतिक्रमण गरे पनि हुन्छ र नक्सामा हालेपछि मात्र आपत्तिजनक हुने भएकाले नक्सामा नहाली प्रयोग गर भने झैँ देखिन्छ । के नक्सामा नहाली चाहिँ कालापानी लिपुलेक लिम्पियाधुरा भारतले प्रयोग गरिरहन पाउने हो, जब कि त्यो भूमि लामो समयदेखि भारतीय अधिनमा छ । नेपालीले त्यहाँ जान त परै जाओस्, हेर्न सम्म भारतीय सीमा सुरक्षा बलले दिँदैनन् ।

संसद्को अन्तर्रा्ष्ट्रिय समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा अविलम्ब सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको निर्देशन हेर्दा यस्तो लाग्छ, नक्साको जवाफ नक्साले नै दिने नीति नेपालले निु पर्छ । त्यसो त भारतले नेपालको लिपुलेक समेटेर नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै समितिले भौगोलिक अखण्डता रक्षाका लागि वार्ता गर्न नेपाल सरकारलाई निर्देशन पनि दिएको छ । समितिले नेपाली भूमि ओगटेर बसेका भारतीय सुरक्षा फौजलाई तत्काल हटाउन पहल गर्न सरकारलाई भनेको हो । ‘नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्तालगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभाग नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा वार्ता गरी समस्या अविलम्ब समाधान गर्नुपर्ने समितिको निष्कर्ष छ । तर समितिले वार्ता गर भन्न सजिलो छ तर सरकारलाई वार्ता गर्न भने निकै गाह्रो छ किनभने भारत नेपाललाई टेरिरहेको छैन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई सरकारले आफ्नो प्रतिनिधिको रुपमा भारत पठाउन खोज्दा भारतले समय नदिएको कुरा पनि मिडिया बजारमा आएका छन् ।

यस्तै सन्दर्भमा नेपालमा भने राष्ट्रियताका सवाल उर्लिदा छन् । उपलब्धिमा भन्दा हल्लामा कुर्लिने नेपाली मानसिकता राम्ररी बुझेको हुनाले होला भारत नेपाललाई टेरिरहेको छैन । हामी उपलब्धिको शून्यतामा राष्ट्रवादी भएका छौँ । राष्ट्रका लागि ठोस योगदान भने गर्न सकिरहेका छैनौँ कि रु राष्ट्रवादी भावना एउटा हो, राष्ट्रको सुरक्षा अर्कै कुरा हो त्यसैले राष्ट्र, राष्ट्रियता र राष्ट्रवादमा स्पष्ट भएर बोल्नु र केही योगदान गर्नु हरेक नागरिकको यतिबेलाको कर्तव्य पनि हो ।

सामान्य अर्थमा बुझ्दा राष्ट्र भनेको देश हो । नेपालको संविधानको धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी परिभाषा गरिएको छ । नेपाली वृहत शब्दकोशमा जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश वा मुलक नै राष्ट्र« हो भनिएको छ । हाम्रो सन्दर्भमा राष्ट्र«को परिभाषा यी भए पनि यी परिभाषाहरु संकुचित देखिन्छन् । राजनीतिशास्त्रीय आँखाले हेर्दा राष्ट्रको परिभाषा यतिले पर्याप्त हुँदैन । एउटा पूर्ण राष्ट्र बन्नका लागि कम्तिमा पनि भूगोल, जनता, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यता आवश्यक पर्दछ । आधारभूत यी तत्वमा आजकल प्रजातन्त्र अर्थात् निर्वाचित सरकार, मानव अधिकार, विधिको शासन जस्ता कुराहरुलाई समेत जोड्नुपर्ने बहस चलेको छ । त्यसैले अब हामी राष्ट्रवादी हुने हो भने देशको सीमानाको मात्र कुरा गरेर पुग्दैन सबै कुराको बहसकर्ता हुनु आवश्यक छ ।

राष्ट्रियता र राष्ट्र«वाद राष्ट्रसँग जोडिएर आउने विषय हुन् । राष्ट्रियता कुनै पनि व्यक्तिको पहिचान हो । यो राष्ट्रसँगको सम्बन्ध हो । हरेक व्यक्तिले आफ्नो राष्ट्रियता जन्मसँगै लिएर आउँछ । त्यसैले कुनै पनि व्यक्ति राष्ट्रविहीन हुनुहुन्न भन्ने मान्यता छ । जहाँ व्यक्ति जन्मन्छ उसको राष्ट्रियता त्यही धर्तीसँग जोडिएको हुन्छ र हुनुपर्छ । कुनै पनि व्यक्तिलाई राष्ट्रविहीन बनाउन मिल्दैन । राष्ट्रियता राष्ट्रभित्र बसोबास गर्ने नागरिकको राजनीतिक अधिकारसँग जोडिएर आउने विषय हो । यो व्यक्तिको कानुनी वा औपचारिक परिचय पनि हो । तर आजकल पहिचानका अन्य आयामहरु खोजी गरिँदा राष्ट्रियताको पहिचान चाहिँ गौण हुँदै गइरहेको छ । मनन गर्नुपर्ने कुरा के हो भने हामी हाम्रो पहिचान राष्ट्रसँग खोजीरहेका छौँ कि तपसिलका विषयमा खोजिरहेका छौँ । तपसिलका विषयमा आफ्नो पहिचान खोज्न थालेपछि हामीलाई छिमेकीले हेप्ने नै भए । फुटाउ र राज गर, विश्वका शक्तिशाली राष्ट्रको राजनीति कुटनीति हो । के हामी अरुको फुटाउ र राज गरको राजनीतिको शिकार भएका छौँ कि सजग छौँ रु आफ्नो मूल्यांकन आफैँ गरौँ ।

राष्ट्रवाद भनेको आफ्नो राष्ट्रको उन्नति वा हीतलाई सर्वोपरी मान्ने सिद्धान्त हो । यसलाई राष्ट्रप्रतिको माया, सम्मान वा भक्तिभावनासँग जोडेर पनि हेरिन्छ । राष्ट्रियता व्यक्तिको उत्पत्तिसँग जोडिएकोले यो भौतिक पक्षसँग बढी सम्बन्धित हुन्छ । तर राष्ट्रवाद दर्शन वा विचार भएकोले यो भावनात्मक पक्षसँग बढी सम्बन्धित हुन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद एक अर्कामा फरक भए पनि यी एक अर्काका विपरीत नभएर परिपूरक हुन् ।

सबै राष्ट्रियताको पहिचान भएकासँग राष्ट्रवादी भावना नहुन सक्तछ र सबै राष्ट्रवादीहरुले राष्ट्रियताको पहिचान नपाएका हुन सक्तछन् । राष्ट्रियताको पहिचान भएका हरेक व्यक्ति राष्ट्रवादी हुन्छन् भन्ने बुझ्नु एक प्रकारको भ्रम हो । जुन देशमा जन्म्यो, हुक्र्यो, पछि ठूलो भएपछि आफ्नै मातृभूमि विरुद्ध बोल्ने र काम गर्नेहरु पनि प्रसस्तै छन् । नेपाली राष्ट्रियताको पहिचान बोकेर पनि नेपाली राष्ट्रियता र राष्ट्रवादप्रति असन्तुष्टि र विरोध राख्नेहरु पनि नभएका होइनन् । बरु नेपाली नागरिकताको पहिचानपत्र नबोकेका वा नपाएका प्रवासी नेपालीहरुले नेपाली राष्ट्रवादको पक्षमा वकालत गरेका उदाहरण भेटिन्छन् । राष्ट्रियताको पहिचान बोकेका सबै व्यक्तिमा देशको अखण्डता, सार्वभौमसत्ता र देशप्रतिको माया नहुन सक्तछ ।

राष्ट्रवादलाई राज्यका लागि गरिने कामको रुपमा पनि अथ्र्याइन्छ । यो देशप्रतिको आस्था, लगाव र भावना हो । राष्ट्रवाद भावना भएकाले यो स्वभाविक रुपमा प्रष्फुटन हुने कुरा हो । यो यति स्वाभाविक हुन्छ कि कोही व्यक्तिले आफूले किन राष्ट्रलाई माया गरिरहेको छु भन्ने सोचेको हुँदैन । न त सोच्ने नै आवश्यकता ठान्छ । राष्ट्रवाद आफैँ निरपेक्ष हुन्छ ।

राष्ट्रवाद अन्य राष्ट्रसँगको सापेक्षतामा बग्ने विषय होइन यो निरपेक्ष राष्ट्रप्रतिको माया, आस्था हो । कहिलेकाहिँ भौगोलिक अखण्डता, सार्वभौमिकता, सीमाना, शैन्य शक्ति आदि कुरा राष्ट्रवादसँग जोडिँदा राष्ट्रवाद सीमाना बाहिर छचल्किन्छ । अर्को राष्ट्रको चर्को विरोध हुन्छ । यसले सीमा नाघ्छ । अनि राष्ट्रवाद विस्तारै अन्ध राष्ट्रवादमा परिणत हुँदै अतिराष्ट्रवादसम्म पनि पुग्दछ । यसले उग्र रुप लिन्छ । उग्रराष्ट्रवादले कहिलेकाहिँ जातीवाद वा नश्लवाद पनि जन्माउँछ भने कहिलकाहिँ द्वन्द्व समेत निम्त्याउँछ । जुन द्वन्द्व अत्यन्त खतरनाक हुन्छ ।

कुनै देशको विरोध र समर्थनको राष्ट्रवादसँग कुनै नाता छैन । नेपालको राष्ट्रवाद भारत भर्सेस अभिव्यक्ति वा धारणा पनि होइन । न त दुई देशीय सम्बन्ध नै राष्ट्रवादको पाटो होे । दुई देशीय सम्बन्ध भनेको राष्ट्रवाद नभएर कुटनीतिक मात्र हो । अरुलाई भारतपरस्त, अमेरिकी परस्त, अमूक संगठनको एजेण्ट भन्ने आरोप लगाउने अनि आफू चाहिँ राष्ट्रका लागि सिन्कोसम्म नभाँच्ने व्यक्ति कसरी राष्ट्रवादी हुन्छ रु राष्ट्रवादलाई भारत वा चीन विरोधि चर्को स्वरले होइन अर्थतन्त्रले मजबुत बनाउँछ । बरु हाम्रो भारतनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सके त्यहाँ राष्ट्रवाद भेटिन्छ । ग्रेटर नेपालका कुरा गरेर राष्ट्रवादी भइँदैन । ग्रेटर नेपाल राष्ट्रवाद पनि होइन । बरु बेटर नेपाल चाहिँ साँचो अर्थमा राष्ट्रवाद हो ।

राष्ट्रवाद समय सापेक्ष परिवर्तन हुन्छ । विश्वव्यापीकरणको युगमा समयले धेरै कोल्टो फेरिसक्यो । हिजोका सोचाइ, बुझाइ र मान्यताहरुमा परिवर्तन आइसकेको छ । त्यसैले अब इतिहासको कुनै कालखण्डमा हाम्रा पुर्खाले सत्रुको गर्धन खुकुरीले काटेका र भीरबाट ढुंगा लडाएर अंग्रेजलाई युद्धमा हराएका भन्ने पुर्खा गाथा गाएर राष्ट्रवादी भइन्छ भन्ने भ्रम कसैले पनि नपाले हुन्छ । हिजोको राष्ट्रवाद त्यही थियो होला तर आज राष्ट्रवादलाई बुझ्ने दृष्टिकोण फरक भैसकेको छ ।

वास्तविक राष्ट्रवाद भनेको राष्ट्रको प्रगति हो । भोको पेटले कसैले राष्ट्रवादको मन्त्र जप्न सक्तैन । तर राष्ट्रवाद यतिबेला अघाएकाहरुले भोकाहरुलाई भावनाको गहिराइमा डुबाएर गर्ने राजनीति मात्र भएको छ । कुनै पनि व्यक्तिका लागि पहिचान र आत्मसम्मानभन्दा पहिलो गास, बास र कपास हो । आत्मसम्मान अघाएका पेटहरुको आदर्श हो । राजनीतिक नेतृत्वले राष्ट्रवादको नारा फलाक्नु अगाडि यो कुरा बुझ्नुपर्छ कि नेपालीहरु किन नेपाली आफ्नो राष्ट्रियता त्यागेर विदेशी राष्ट्रियताको पगरी गुत्दैछन् रु किन अरु देशको नागरिक हुन गर्व गर्दैछन् रु देशमा गरिबी व्याप्त छ । आधुनिक युगमा राष्ट्रवाद राष्ट्रबाट प्राप्त गर्ने लाभहानीसँग जोडिन थालिसक्यो । त्यसैले राष्ट्रवादको प्रमुख आधार आर्थिक समुन्नति हो भन्ने कुरा कसैले भुल्नु हुँदैन । गोर्खाली वीरहरुको देश, सगरमाथको देश, गौतमबुद्धको देश भनेर गर्व गर्ने राष्ट्रवादका केही सहायक आधार र पहिचान हुन सक्तछन् । बरु भाषा, संस्कृति, साहित्य राष्ट्रवादका सहायक औजार हुन् । आत्मसम्मान, पहिचान, भाषा, संस्कति बलियो भए राष्ट्रवादी भावनालाई थप बल पुग्न सक्तछ । यसलाई मजबुत बनाएर राष्ट्रवादको जग बलियो बनाउन सकिन्छ । तर यी सबैका बाबजुद पनि राष्ट्रवादको मुख्य आधार चाहिँ सबल अर्थतन्त्र नै हो । आजको युगमा सबल अर्थतन्त्र विनाको राष्ट्रवाद चाहिँ उग्र राष्ट्रवाद हो ।

वीपीले भनेका थिए– राष्ट्र भनेको भूगोल होइन, जनता हो । निरंकुश शासनसत्ताको समर्थन नै राष्ट्रवाद हो भनेर अन्धो राष्ट्रवादको शिक्षा लादिएको तत्कालीन परिवेशमा वीपीले ठीकै भनेका थिए । जनतालाई उपेक्षा गर्ने व्यवस्थाको गुणगान कसरी हुन सक्तछ रु वर्तमान सन्दर्भमा एउटा पूर्ण राष्ट्र हुन भूगोल पनि आवश्यक पर्ला तर राष्ट्रको पहिलो शक्ति चाहिँ जनता नै हो । त्यसैले राष्ट्र बलियो हुन जनता बलियो हुनुपर्छ । जनता बलियो हुन जनता अधिकारसम्पन्न हुनुपर्छ । जहाँ शासक बलिया हुन्छन् त्यहाँ राष्ट्रियता कमजोर हुन्छ । जहाँ जनता बलिया हुन्छन् त्यहाँ राष्ट्रवाद बलियो हुन्छ । जनता कमजोर भएर राष्ट्रवादी भावना बलियो हुन्छ भन्नु कोरा कल्पना मात्र हुन्छ ।

कुनै पनि राष्ट्रमा यदि जनता अधिकार सम्पन्न भएनन् भने जनतामा आक्रोश बढ्छ र त्यसको पहिलो प्रहार सरकारमाथि हुन्छ । कालान्तरमा यो प्रहार राष्ट्रलक्षित हुन्छ । राष्ट्र कमजोर भएपछि राष्ट्रियता कमजोर हुन्छ । राष्ट्र र राष्ट्रियता कमजोर भएपछि राष्ट्रवाद पनि छायाँमा पर्छ । त्यसैले राष्ट्रवाद धोती र टोपीमा खोजिनुहुन्न । अधिकारमा खोजिनुपर्छ । देशलाई परनिर्भरताको दलदलमा फसाएर राष्ट्रगान गाउनेहरु कहिल्यै राष्ट्रवादी हुँदैनन् । यस्तो परिनिर्भरताले राष्ट्रवादलाई कहिल्यै मजबुत बनाउँदैन ।

हरेक नागरिकलाई आफ्नो देशको माया हुन्छ । तर नेपालीहरुमा देशप्रतिको माया अति नै गहिरो छ भन्ने कुरा भारतले नक्सा सार्वजनिक गरेपश्चात सामाजिक सञ्जालमा आएका अभिव्यक्ति र मिडियामा आएका विचारबाट देखिन्छ । अवश्य हो, भारतले हामीमाथि हेपाहा प्रवृत्ति देखाएको छ तर यसको प्रतिक्रियामा हामीले संयमता गुमाउनु हुँदैन । हामी भारतसँग सैनिक बलमा उत्रिन सक्ने अवस्थामा छैनौँ, त्यसैले हामीले खोज्ने कुटनीतिक समाधान नै हो । पहिलो चरणमा भारतसँग कुटनीतिक र प्राविधिक वार्ताको विकल्प छैन । यदि पहिलो विकल्प काम लागेन भने संयुक्त राष्ट्र संघदेखि अन्तर्राष्ट्रिय अदालतसम्म पुग्नुको विकल्प पनि छैन । त्यसैले हल्लाभन्दा बढी प्रक्रियामा प्रवेश गरौँ, समाधान विनाको समस्या कतै पनि हुँदैन । हामी स्वाभिमानी नेपाली कोहीसँग नझुकौँ र कुनै पाइलामा पनि नचुकौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here