नक्सा परिवर्तन गरेकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति : प्रदीप ज्ञवाली

463

काठमाडौं / परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रारम्भमा नक्सा परिवर्तन गरी त्यसकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति भएको  जनाएका छन् ।

भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री ज्ञवालीले उक्त कुरा जनाएका हुन्। सीमामा नेपालको प्रशासनिक क्षेत्र नहुँदा त्यसको फाइदा उठाउँदै भारतले नेपाली भूभाग मिचेको  जनाए।

भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेक अतिक्रमण गर्ने क्रममा नक्कली काली नदिसमेत बनाएको उनले जानकारी दिए। कालापानीलाई पश्चिम पारेर दोश्रोपटक भारतले सीमा मिचेको तथ्य उनले सुनाए।

भारतले ९० प्रतिशत सीमाको विवाद टुंगिएको बताउँदै सहमति गर्न आग्रह गरे पनि नेपालले त्यसलाई नस्विकारेको उनले जानकारी गराए। सीमाको समस्या प्रतिशतमा समाधान नहुने जवाफ भारतलाई पठाएको उनले जानकारी गराए। कालापानी र सुस्ताको विवाद सचिवस्तरीय संयन्त्रबाट टुंगाउन पहल भइरहेको भएपनि भारतले नयाँ नक्सा सार्वजनिक गरेको उनको भनाइ छ। उक्त संयन्त्रको एक पटक पनि वार्ता हुन सकेको थिएन।

नोभेम्बर २ मा भारतले सार्वजनिक गरेको नक्सा अस्वीकार गर्ने नेपाल सरकारले नोभेम्बर ६ मा प्रष्ट पारेको उनले सुनाए। भारतसँग सीमा समस्या समाधानमा भइरहेका प्रगति संसदलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘नोभेम्बर २० मा कूटनीतिक नोट भारतलाई पठाइएको थियो। वार्ताका लागि नोभेम्बर २३ मा प्रस्ताव गरिएको थियो।’ नेपालको प्रस्तावप्रति डिसेम्बर १९ मा भारतले सीमामा समस्या रहेको स्वीकार्दै वार्ताका लागि तयार रहेको पत्र पठाएको जानकारी दिए।

दुई देशबीच वार्ताका लागि अनुकूल मिति तय गर्न सरकार लागिरहेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here