विप्लव समूहमाथि ‘निर्मम’ बन्न सुरक्षा अंगहरुलाई गृहमन्त्रीकाे निर्देशन

178
काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपा माओवादीप्रति निर्मम बन्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको सुरक्षा सम्मेलनमा १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रस्तुति र सुरक्षा अंगका प्रमुखको भनाइ सुनेपछि गृहमन्त्री थापाले विप्लव समूहमाथि कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्।

‘दैलेखमा गाउँपालिकाका अध्यक्षलाई अपहरण गर्ने, सुर्खेतमा सुरक्षाकर्मीमाथि गोली प्रहार गर्ने समूहलाई त्यसै छोड्नु हुँदैन्,’ गृहमन्त्री थापाको धारणा उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘विप्लव समूहका गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न सबै सुरक्षा अंगले समन्वय गर्दै कडा रूपमा प्रस्तुत हुनुहोस्।’ विप्लव समूहले पुस ७ गते दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अपहरण गरेको थियो भने त्यसको एक सातापछि पश्चिम सुर्खेतमा सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको थियो। गोष्ठीमा कर्णालीका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका प्रमुखले विप्लव समूहलाई स्थानीय तहका जनप्रनिधिहरुकै संरक्षण रहेको जनाएका थिए। उनले विप्लव समूहलाई सहयोग गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिए। ‘राज्यले प्रतिबन्ध लगाएको समूहलाई सहयोग गर्ने जनप्रतिनिधिलाई पनि नछोड्नुहोस्,’ आफ्नो सम्बोधनका क्रममा गृहमन्त्री थापाले भने, ‘आपराधिक समूहको संरक्षणकर्ता पनि अपराधी नै हो।’

राज्यले प्रतिबन्ध लगाएको समूहलाई सहयोग गर्ने जनप्रतिनिधिलाई पनि नछोड्नुहोस्। आपराधिक समूहको संरक्षणकर्ता पनि अपराधी नै हो। गृहमन्त्री थापाले विप्लव समूहका संविधान र कानुन विरोधी गतिविधिलाई प्रशासनिक तथा कानुनी विधिबाट नियन्त्रण गर्नुका साथै अनौपचारिक रूपमा वार्ता र छलफलको प्रयास पनि सरकारले गरिरहेको जनाए । अपराधमुक्त समाज निर्माणका लागि सरकारको ध्यान केन्द्रित रहेको  जनाउँदै  गृहमन्त्री थापाले राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक तथा अन्य जुनसुकै आवरणमा हुने अपराधजन्य कार्य नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

नागरिका दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here