नौ राजनीतिक दलद्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक

184

काठमाडौं / एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै सडक संघर्षलाई निरन्तरता दिने भएका छन् ।

माघ २४ गते सातै प्रदेशमा संयुक्त विरोध सभा सम्पन्न गरेका नौ राजनीतिक दल तथा संगठनहरुले थप आन्देलनको कार्यक्रम घोषणा गरेका  हुन्  ।

प्रधानमन्त्री तथा सभामुखलाई भेटेर एमसीसी संसदबाट पारित नगर्न दबाब दिइने घोषित कार्यक्रममा उल्लेख छ । विभिन्न जिल्लाहरुसहित राजधानीमा प्रदर्शनलाई निरन्तरता दिने कार्यक्रम छ । नौ दलको आइतबार सम्पन्न बैठकपछि नेकपा (माले) का महासचिव सीपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।

बैठकले आगामी संयुक्त संघर्षलाई प्रभावकारी ढंगले अघि बढाउन निम्न अनुसारका निर्णयहरु लिएको छः

१) भारतद्वारा अभिक्रमित र कब्जा गरिएको लिम्पियाधुरा–कालापानी–लिपुलेक भारतमा समावेस गरेर प्रचार गरिएको राजनीतिक नक्सालाई खारेज गरी नेपालले आफ्नो भूमि माथिको स्वामित्व लिने र नक्कली नक्सा बदर गर्ने तथा अमेरिकाव्दारा एम् सी सी नेपालको संसदबाट पारित गराएर नेपाललाई रणमैदान बनाउन खोजेकोमा त्यसलाई खारेज गराउनका लागि माघ २४ गते नौ पार्टीद्वारा आयोजित संयुक्त संघर्षको कार्यक्रम सापेक्षित रुपमा सफल भएको बैठकले समीक्षा गरेको छ ।संघर्षका कार्यक्रममा सहभागी सबै प्रति धन्यवाद ज्ञापन गरिएको छ ।

२) उपरोक्त भारतीय अतिक्रमण तथा अमेरिकी हस्तक्षेपका विरुद्धमा संघर्ष गरिरहेका नेपाल मजदुर किसान पार्टी र ने क पा (संयुक्त)लाई पनि कार्यगत एकतामा आउनका लागि अनुरोध गर्ने । यसका साथै एम् सी सी खारेज गर्न, लिम्पियाधुरा–कालापानी–लिपुलेक बचाउन अभियान संचालन गरिरहेका अभियन्ताहरु सँग संयुक्त कार्यक्रम संचालन गर्नका लागि सहकार्य गर्न प्रयत्न गर्ने निर्णय भएको छ ।

३) आगामी संयुक्त आन्दोलनको कार्यक्रम निम्न अनुसार तय गरिएको छ :

  •  माघ २८ र २९ गते – डेलिगेसन गएर प्रधान मंन्त्री र सभामुख सँग भेटी एम् सी सी संझौता नगर्न र संसदबाट पारित नगर्न तथा भारतव्दारा अतिक्रमित नेपाली भूभागमा आफ्नो स्वामित्व कायम गर्नका लागि जोड दिने ।
  •  फाल्गुण ३ गते – नेपालका सबै जिल्लाहरुमा उपरोक्त विषयहरुमा संयुक्त रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने । यसको समयोजन प्रदेश समितिहरु मिलेर संयुक्त रुपले गर्ने छन् ।
  • फाल्गुण ५ गते – ललितपुर जिल्लाको लगनखेलमा बृहद् जन संवाद कार्यक्रम सचालन गर्ने ।
  • फाल्गुण ८ – गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्ड सहित जुलुस प्रदर्शन गर्दै संसद भवन बाहिर पुगेर जन सभा गर्ने ।
  • देशको सार्वभौमिकता र अखण्डताको रक्षाका निमित्त आयोजना गरिएका उपरोक्त संघर्षका कार्यक्रमहरुमा सम्पूर्ण देशभक्त जनतालाई सहभागि बन्न अपिल गरिएको छ ।

बैठकमा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मालें)का महासचिव सी पी मैनाली, राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँती, जन समाजवादी पार्टीका अध्यक्ष क.सुभाष काफ्ले र राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक साध्य बहादुर भण्डारीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here