‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुभारम्भ

228

काठमाडाैं – जंगी अड्डामा सञ्चालन हुने तीन दिने पृतनापति समन्वयात्मक बैठक २०७को आज माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति, रक्षा सचिव, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुभारम्भ भएको छ ।

उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मन्तव्य व्यक्त गर्नुहुँदै वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा स्पष्ट कार्य नीति सहित केन्द्रित भएको परिप्रेक्षमा नेपाली सेनामा आन्तरिक रुपमा भईरहेका भ्रष्टाचार नियन्त्रणका कार्य तथा छानविनमा श्री रक्षा मन्त्रालय र नेपाल सरकारको पूर्ण साथ रहेको जनाउनु भएको थियो । उहाँले नेपाली सेनाले विशेष गरि नागरिकता र प्रमाण पत्रको छानविन, भर्ना छनौटमा भएको अनियमितता माथिको छानविन र कारवाही, आर्थिक अपचलनका विषयमा भएका र भईरहेका छानविन एवम् नियमित अनुगमन जस्ता कार्यले नेपाली सेनामा दीर्घकालीन एवम् सकारात्मक प्रभाव पार्ने अवस्था सिर्जना भएको बताउनु हुँदै नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसँग डराउनु पर्दैन भन्‍ने विचार व्यक्त गर्नु भएको थियो । सैनिक ऐन तथा नियमावलीहरुबाट संचालित हुने नेपाली सेनाभित्र यदि कुनै आन्तरिक समस्या भएमा उक्त समस्याको समाधान जंगी अड्डाले नै समाधान गर्नु पर्दछ र जंगी अड्डाको परिधिभित्र सम्बोधन गर्न नसकिएमा श्री रक्षा मन्त्रालय समस्या समाधानको लागि सदैव तयार रहेको बताउनु हुँदै अनावश्यक तथा अनाधिकृत चलखेल, भनसुन तथा प्रचारवाजीमा विश्वास नगर्न हुन समेत निर्देशन दिनु भएको   थियो । नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षा तथा विकास निर्माणमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुहुँदै नेपाली सेनाको नीति योजना र भावी कार्यक्रमहरुको तर्जुमा तथा कार्यान्वयनमा श्री रक्षा मन्त्रालयको सदैव साथ र सहयोग रहने उल्लेख गर्नु भएको थियो । साथै उहाँले उक्त समन्वयात्मक बैठकले राष्ट्रिय सुरक्षालाई थप सबल र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुहुँदै उक्त बैठकको सफलताको कामना समेत गर्नु भएको थियो ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बैठकमा शुभारम्भ मन्तव्य राख्‍नु हुँदै सबै तहका कमाण्डरहरुको काम कारवाहीहरु पारदर्शी, नैतिक, पदिय दायित्व बमोजिमको जवाफदेही र उत्तरदायी तथा प्रणाली र पद्दती स्थापित गर्न सहयोगी हुनुपर्ने बताउनु भएको थियो । साथै लागू गरिएका सम्पूर्ण नीति नियमहरुको पूर्ण कार्यान्वयन गर्ने, कार्यान्वयनका दौरान अव्यवहारिक देखिने नीति नियमलाई समय सापेक्ष बनाउँदै लैजाने, पृष्ठपोषण लिने र परिमार्जित गर्दै लैजाने कार्यलाई नियमित कार्यको रुपमा लिने कार्य शैली र संगठनको संस्कृतिको रुपमा विकास हुनुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

बलाधिकृत रथी शरद कुमार गिरीले बैठकमा स्वागत मन्तव्य राख्‍नु हुँदै नेपाली सेनाको विविध गतिविधिहरुको प्रगती प्रतिवेदन तथा भावी योजना समेत प्रस्तुत गर्नु भएको थियो । साथै नेपाली सेनालाई समय सापेक्ष थप सक्षम, व्यवसायिक, श्रोत साधन सम्पन्‍न, आधुनिक प्रविधियुक्त तथा उच्च मनोबल भएको सेनामा रुपान्तरण गर्ने परिकल्पना सहित नेपाली सेना दीर्घकालीन सोच – 2087 (Nepali Army Vision-2030) लाई सबै तहमा बृहत छलफल गरि परिस्कृत गरिएको  जनाउनु भएको थियो ।

यस किसिमको समन्वयात्मक बैठकका दौरान हुने छलफल र अन्तरक्रियाका निचोड र निष्कर्षहरुले आगामी दिनहरुमा नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माण तथा प्रभावकारी कार्यान्वयनमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here