सिलान्यसमा मात्र सिमित भयाे पेट्रोलियम र ग्यास पाइपलाइन

247

बारा – इन्धन आपूर्तिलाई सुरक्षित र सहज बनाउन ४ महिना अघि शिलान्यास भएको अमलेखगञ्ज–चितवन पेट्रोलियम र ग्यास पाइपलाइनको काम अघि बढ्न सकेको छैन । आयोजना शिलान्यासका दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले पाइपलाइन विस्तारको काम मोतिहारी–अमेलखगञ्ज पाइपलाइन परियोजना जस्तै समय अवधिमै काम सम्पन्न हुने घोषणा गरे पनि सोही दिनदेखि आयोजनाको काम भने अघि बढ्न सकेको छैन ।

परियोजनाको कामले गति नलिनुमा पेट्रोलियम ढुवानी व्यवसायी र ग्यास कम्पनीहरूको एशोसिएशनको पदाधिकारीहरुले उच्च राजनीति दवाव सृजना गरी स्थगित गराएको निगमको उच्च श्रोतले जनाएको छ ।

पाइपबाट ग्यास र इन्धन आपूर्ति सुरु भएपछि आफ्नो ग्यास र तेल टयांकरको काम रोकिँदा व्यवसाय चौपट हुने भन्दै यसअघि पनि पेट्रोलियम ढुवानी व्यवसायीले शिल्यान्यासकै क्रममा विरोध गर्दै आएका थिए । काम अगाडी नबढनुको कारणबारे मन्त्रालय र निगमका पदाधिकारीहरुले स्पष्ट रुपमा बताउन सकेका छैनन् ।

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले मन्त्रीस्तरमा दुई देशबीच छलफल भएको भन्ने कुरा मात्र आफूले सुनेको जानकारी दिनुभयो । आपूर्ति मन्त्रालयका सहसचिव धु्रव घिमिरेले पनि परियोजना अघि नबढ्नुको कारणबारे स्पष्ट जवाफ दिन सक्नुभएन ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच सम्झौता भएर सुरु भएको परियोजनामा हालसम्म माटो परीक्षण, आयोजनाको विस्तृत अध्ययन इन्जिनियरिङ सर्भे र अमलेखगञ्जदेखि चितवनसम्म ठाउँ ठाउँमा बोर्ड राख्नेबाहेक अन्य कुनै काम अगाडि नबढेको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल निगमले अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम र ग्यास पाइपलाइन सर्भेका लागि ३० लाख भारतीय रुपैयाँ खर्च गरेर अमलेखगञ्जदेखि चितवनसम्मको माटो परीक्षण, जंगल, नदीमा कसरी पाइल बिछ्याउने भन्ने विषयमा डिटेल इन्जिनियरिङ सर्भे गरिसकेको छ ।

अहिलेसम्म नेपाल आयल निगम र भारतीय आयल निगमबीच कसको लगानी कति हुने कसरी काम अगाडि बढाउने भन्ने विषयमा नै टुंगो नलागेकोले आयोजनाको काम अगाडि नबढेको आयल निगम अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।

अमलेखगञ्जदेखि चितवनसम्म ग्यास पाइपलाइन अगाडि बढाउन सरकारले समिति समेत गठन गरेको थियो । तर हालसम्म सो समितिले कुनै काम अगाडि बढाउन नसक्दा निगम नै अन्योलमा रहेको छ ।

तत्कालीन उद्योगमन्त्री मात्रिका यादव, आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जोडतोडका साथ परियोजना सञ्चालनमा आउँदा मुलुकलाई धेरै ठूलो आथिक लाभ हुने र ग्यास तथा इन्धन ढुवानीमा हुने धेरै ठूलो भाडाको रकम बच्ने भन्नुभएको थियो ।

शिल्यान्यसकै दिन जारी प्रेस विज्ञप्तीमा निगमको प्रारम्भिक अनुमान अनुसार ६२ किलोमिटरको अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइन विस्तारका लागि ५ अर्ब ६७ करोड रुपैयाँ खर्च हुने, लोथरमा इन्धन भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि ४ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको छ ।

करिब २० हजार मेट्रिकटन ग्यास भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार निर्माण हुने र नेपाल भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन ९८ किलोमिटर हुने साथै पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघण्टा र एलपी ग्यासको करिब १०० टन प्रतिघण्टा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here