काठमाडौं – सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुन ७६ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै बढ्न सक्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
उहाँका अनुसार चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको हो । यस अघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको शाक्यले जानकारी दिए ।
अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस १५ सय ८७ डलर पुगेको छ । यो भाउ अझै बढ्ने पूर्वानुमान छ । यस अघि गएको पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउमा केही उतारचढाव आइरहेकोमा मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै महंगो भएको हो ।
मुख्य सिजनमा नै घट्यो कारोबार
सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
यस अघि पोहोर पररा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलोभन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले जनाउनुभयाे ।
विश्वमा शक्तिशाली भनिएका देशबीचको व्यापार युद्ध र कोरोना भाइरसको प्रभावका कारण विवाहको समयमा पनि कारोबार ठप्प जस्तै भएको व्यवसायीले जनाएका छन् ।


















