काठमाडौं – देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी देखिएको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा १२८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको छ । कहिलेकाहीँ प्रक्रियागत तथा मौसम लगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जानकारी दिएको छ ।
निर्माणाधीनमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । ढिलाई गर्ने मध्ये कतिपयलाई कारवाही गर्न लागिएको छ भने केहीले काम सुरु गर्न थालिसकेको सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले गलत मनसायले ढिलाइ गर्दा कारवाही हुने भए पनि अरु समस्याका कारण ढिलाइ भएकामा अवधि थप गर्दै आइएको छ ।”
राष्ट्रिय गौरवका रुपमा रहेका सडक आयोजना अन्तर्गतका पुलमा पनि समस्या देखिएको छ । हुलाकी राजमार्गमा ९ वटा पुलमा समस्या देखिएको छ । ६० सडक पुल निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माण अघि बढेको छ । ती मध्ये ४ पुल निर्माण व्यवसायीका कारण अघि बढ्न सकिरहेको छैन ।
रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ । स्थानीय पुल ६४ र रणनीतिक पुल ३ वटाको डिजाइन सम्पन्न भइसकेको छ ।


















