– –निशा तामाङ
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी रूपमा महामारीझैं फैलिंदै गएको छ । कोरोना त्रासले भयावहको सृजना भइरहेको अवस्थामा नेपालमा पनि यसको असर परेको छ । नेपालमा कोरोना भाइरस संक्रमित भएका एक जना फेला परेका छन् भने यसको संक्रमणबाट विश्वभर ४ हजार २७ जनाको ज्यान गइसकेको छ । हाल यो भाइरसबाट विश्वभर १ लाख १४ हजार ४२२ जना संक्रमित भएका छन् । यसमध्ये ६४ हजार ८१ जना बिरामी उपचारपछि निको भएर फर्किएका छन् ।
कोरोना भाइरसको संक्रमण अहिले एक सय १५ देशमा देखिएको छ । नेपालमा पनि यसको संक्रमणभन्दा बढी त्रास भयावह रूपमा फैलिएको छ । विश्वव्यापी रूपमा कोरोनाको संक्रमण फैलिएपछि त्यसको प्रत्यक्ष असर नेपालको नागरिक उड्डयन क्षेत्रमा परेको छ । कोरोना भाइरसको सन्त्रासका कारण देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाइएको छ । यसकै त्रासले वृद्धदेखि बालबालिका समेत यसको संक्रमणमा पर्ने हो कि भनेर सतर्कता अपनाइरहेका छन् । यसको सतर्कताभन्दा बढी हल्ला र भ्रम फैलाइएको छ । भ्रममा परेर अहिले सबै नेपालीहरू त्रसित बन्दै गएका छन् ।
चीनको उहानबाट फर्काइएका नेपालीहरू पनि १४ दिन क्वारान्टाइनमा राखेर सुरक्षित भएर आ–आफ्ना घर फर्किएका छन् । अन्य नेपालीहरूमा भने सामान्य संक्रमण हो कि भनेर उपचारका लागि अस्पताल धाउने क्रम बढेको छ । अस्पताल पुगेर जाँच गरेकाहरूमा पनि कोरोना भाइरस नेगेटिभ देखिएपछि ढुक्क हुने अवस्था रहने नै भयो । उनीहरूको स्वास्थ्य परीक्षण गर्दा सबैको परिक्षण नेगेटिभ आएर उनीहरू पनि सुरक्षित भएका छन् । तर अहिले मौसम परिवर्तनको समय भइरहेको अवस्थामा सामान्य रुघाखोकी लागेका नेपालीहरू कोरोना भाइरसको संक्रमण हो कि भनेर त्रसित भएका छन् । त्रासयुक्त वातावरणमा जनसाधारणले जीवनयापन गरिरहेका छन् भने उपभोग्य सामानमा समेत कालोबजारीले व्यापक रूप लिइरहेको छ । विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको व्यवसायीहरूको भनाइ छ । कोरोना भाइरसका कारण बजारमा माग बढेपछि कृत्रिम अभाव सृजना गरिएको छ । मास्कको कालाबजारी, उपभोग्य सामानको कालाबजारी र सामानहरूको अभाव सृजना गराइएको छ । यसले नेपालीमा कोरोनाको त्रास व्यापक रूपमा भएको पाइन्छ । सरकारले पनि यसको नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने प्रयास गरेको भनिरहेको छ । सबै सिमा निकाहरूमा स्वास्थ्यडेस्कको स्थापना गरिएको जनाइएको छ । विमानस्थलमा आउने जानेहरूका लागि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र पेश गर्नुपर्नेसमेत जनाइएको छ । कोरोना भाइरसबाट संक्रमण हुन सक्ने जोखिमलाई सरकारले उच्च सुरक्षा सर्तकता अपनाएकाले डराउनुपर्ने अवस्था पनि नरहेको भन्दै आएको छ । यसले कतिपयमा भने हेलचक्राइँ गरेको पनि देखिदै छ । नेपालीहरू भने कोरोना भाइरसको संक्रमण रोकथामको बारे सचेत हुनुपर्नेमा सामाजिक सञ्जालमा विभिन्न अपवाहको रूपमा ‘ट्रोल’ बनाउँदै आएका छन् । अहिले सञ्चारको सहज र सशक्त माध्यम बनेको सामाजिक सञ्जालको सही सदुपयोग गरेर कोरोना भाइरसबारे सचेतना फैलाउनु पर्नेमा विभिन्न ट्रोल बनाउँदै हास्यास्पद बनाउँदै आएका छन् ।
दक्षिण एसियाली क्षेत्रका आठै मुलुकमा कोरोना भाइरस भयावह रूपमा फैलिदै गएको छ । नेपालसहित आठवटै देशमा कोरोना भाइरसका बिरामी भेटिएका छन् । विश्वका विभिन्न देशले चीनबाट आउने विदेशीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । यसरी भयावह रूपमा फैलिंदै गएको कोरोना भाइरसले मानव सभ्यतानै खतरामा पर्न सक्ने सम्भावना पनि बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिंदै गएको अवस्थामा नेपालमा पनि फैलिन सक्ने प्रवल सम्भावना रहेको हुँदा यसको नियन्त्रण र रोकथामका बारेमा सबै जनता सचेत हुनु जरुरी छ । सामाजिक सञ्जालमा अफवाह फैलाउनुभन्दा सही सूचना र रोकथामका उपाय सम्प्रेषण गर्नुपर्दछ । सबैलाई सचेत गराउनु पर्दछ । बेलैमा सचेत नभए यसको संक्रमणबाट बच्न सकिन्छ भनेर भन्न सकिन्न । सरकारले पनि जनचेतनाका लागि आवश्यक अभियान चलाउन नसकिरहेको महसुस सर्वत्र भइरहेको छ । यो स्थितिलाई सरकारले यथावत रहन दिइनु हुँदैन । नेपालमा संक्रमण सुरु भयो भने नियन्त्रण असम्भव हुनेछ भन्ने कुरालाई बेलैमा बुझ्नु बुद्धिमानी हुनेछ । – [email protected] – जनधारणा साप्ताहिक


















