भारतीय प्रहरीमा कोरोना देखिन थाल्यो, ५० जना क्वारेन्टाइनमा

87

एजेन्सी – भारतीय प्रहरी अधिकारीहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । सीमा सुरक्षा बल (बीएसएफ) का ५० जनालाई मध्य प्रदेशको टेकनपुरमा अलग्गै राखिएको छ । यहाँको १ अधिकारीमा कोरोना भाइरस भेटिए पछि यो निर्णय लिइएको हो ।

टेकनपुर मध्य प्रदेशको ग्वालियर जिल्लामा अवस्थित छ । यहाँ बीएसएफको एक आधुनिक प्रशिक्षण केन्द्र छ । छानबिनको क्रममा यस केन्द्रका एक अधिकारी कोरोना पोजिटिभ पाइए । यस पछि, उनको सम्पर्कमा आएका सबै ५० जना अधिकारी र सिपाहीहरुलाई अलग्गै राखिएको छ । बीएसएफका डाक्टरहरूले ती सैनिकहरूको स्वास्थ्यको अनुगमन गरिरहेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार ५७ वर्षीय बीएसएफ अफिसर जो कोरोना पोजिटिभ भेटिए, उनी टेकनपुरमा कार्यरत छन् । हालसालै उनकी श्रीमती बेलायतबाट फर्केर भारत आएकी थिइन् ।

यी अधिकारीमा कोरोना उनकी आफ्नी श्रीमतीबाट संक्रमण पाएको विश्वास गरिएको छ । यस बीएसएफ अधिकारीलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यस अफिसरले १५ देखि १९ मार्चसम्म एडीजी, आईजी रैंकका अफिसरहरूसँग धेरै बैठकहरू गरेका थिए । अब सबै अधिकारीहरुलाई क्वारेन्टाइन गरिएको छ । शनिबार केन्द्रीय औद्योगिक सुरक्षा बलको हेड कस्टेबल पनि कोरोना संक्रमित भेटिए ।

यी सिपाही मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलमा थिए । उनी ड्युटीमा हुँदा संक्रमण भएको विश्वास गरिएको छ । भारतमा अहिलेसम्मको ताजा जानकारी अनुसार कोरोना संक्रमितहरुको संख्या ९८७ रहँदा २४ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here