दादुरारुवेलाका कारण दुई बालबालिकाको मृत्यु, १५० बिरामी

127

धादिङ –  दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।

गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो । ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो ।

दादुरारुवेलाका कारण २९ महिनाको अनिशा चेपाङ र आठ महिनाको वसन्त चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन् । गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न रहेकी छिन् ।

चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो । फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए । रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुबाडीले जनाए।

दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेपनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमायाँ चेपाङले बताए । ३० वर्षीया सोल्टीमायाँको छ बच्चामध्ये एक जनाको दादुराका कारण मृत्यु भएको थियो । उनले आफूले र बच्चाले हालसम्म खोप नलगाएको  जनाए ।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुबाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए । गाउँपालिकाले महामारीका रुपमा रहेको दादुरारुवेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वाग्मती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरारुवेला खोप लगाउने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले जनाए ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here