मिथिलाञ्चलमा बैशाख २ गते जुडशीतल पर्व मनाइँदै

18

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई  विशिष्ट कृषि सांस्कृतिक  पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनी मनाउने गर्दछन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवम् उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल  कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकामा हत्केलामा पानी लिई आर्शीवाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा मैथिलहरू एकाबिहानै उठेर आफ्ना परिवारजनलाई आर्शीवाद दिने चलन रहेको छ । यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरुद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूखबिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । साथै घरदैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।

त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा र सवारीसाधनमाथि पानी जुराउने गरिन्छ । यस पर्वमा गाउँका इनार, कुवाको जीर्णोद्धार पनि गरिन्छ, यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरु भएको बताइन्छ ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ, “एक सालको खाना अर्को सालमा खानु पर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासी भात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिन्छ ।

यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिन्छ । जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीक रूपमा पनि प्रतिष्ठित रहेको छ । नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातावरण, स्वच्छ पानी, स्वच्छ जीउ, स्वच्छ र रुचिकर खानासँगै तापविरुद्ध लड्ने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वमा निहित सन्देश हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here