विश्वभर कोभिड–१९ को त्रास बढिरहेकाे बेला वीर का डाक्टरले गरे कमाल

92

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिनको लागि वीर अस्पतालका चिकित्सकहरुले आफैले ल्यारिङस्कोप उपकरण बनाएका छन् । यसको सहायताले बिरामीहरुलाई भेन्टिलेटरमा राख्नु पहिले फोक्सोमा पाइप (ट्युब) हाल्न सहयोग पुर्याउने डा.रोशन भगत चौरासिया जनाउँँछन् । चौरासिया ल्यारिङस्कोप बनाउनेमध्येका एक हुन् । उनका अनुसार यसको सहायताले कोरोना संक्रमित बिरामीको नजिक नगई उपचार गर्न सकिन्छ । यसो गर्दा चिकित्सकलाई जोखिम कम हुन्छ । यो यन्त्र बनाउने टिमका अर्का डाक्टर पवन भगतका अनुसार यो बिग्रिएको ल्यारिङस्कोपबाट बनाइएको हो । ल्यारिङस्कोपको बजार मूल्य १ लाखभन्दा बढी पर्छ । तर यो आफैले बनाउँदा १५ सयदेखि २५ सय रूपैयाँसम्म खर्चमा बन्छ । उनले भने, ‘यो बनाउन सजिलो छ । हामीले मात्र होइन, सबै चिकित्सकले बनाउन सक्छन् ।’

यो यन्त्र बनाउने टिमका डाक्टर नविन पोखरेलका अनुसार यसमा गोरोस्कोप क्यामेरा जडान गरिएको हुन्छ । उक्त क्यामेराले मोबाइलमै सूक्ष्म दृश्यहरु देखाउँछ, जसको माध्यमबाट पर बसेर चिकित्सकहरुले उपचार गर्न सक्छन् । उनी भन्छन्, ‘मोबाइलमै हेरेर चिकित्सकहरूले उपचार गर्न सक्ने भएकाले डाक्टरहरलाई संक्रमण हुने जोखिम कम हुन्छ, बिरामीलाई पनि सहज हुन्छ ।’ टिमका अर्का डाक्टर दीपेन्द्र पाण्डेका अनुसार यो यन्त्र भएन भने भेन्टिलेटरमा राख्नु पहिले बिरामीको नजिक गएर पाइप छिराउनुपर्छ । यसक्रममा घाउ हुने खतरा हुन्छ । तर यन्त्र हुँदा क्यामेराबाट हेर्न मिल्ने भएकाले सजिलो र छिटो हुन्छ । उनी भन्छन्, ‘यो भेन्टिलेटर होइन तर भेन्टिलेटर सहयोगी सामग्री हो ।’ यो यन्त्र बनाउने चिकित्सकहरुका अनुसार यो यन्त्रबारे स्वास्थ्यकर्मीहरुलाई तालिम दिनु उपयोगी हुन्छ । उनीहरु भन्छन्, ‘केही दिनमा हामी यो यन्त्र अरु थप संख्यामा बनाउँछौं, अरु अस्पतालका चिकित्सकहरुलाई पनि बनाउन सिकाउँछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here