काठमाडौं – अाज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकको अझै समय तय हुन सकेको छैन। यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री निकट नेताहरूले आज सचिवालय बैठक बस्ने जानकारी दिएका थिए।
बैठक बस्नेबारे कुनै तयारी नभएको प्रधानमन्त्री निकट स्रोतले जनायो। स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली संसदीय दलमा आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने तयारीमा लागेका छन्।
उनले सांसद समेत रहेका पूर्वमाओवादी पक्षधर र वरिष्ठ नेता माधव नेपाल निकटका केही नेताहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेका छन्। प्रधानमन्त्रीले आफू अनुकूल नहुँदासम्म सचिवालय बैठक नबोलाउने सोच बनाएको स्रोतको दाबी छ।


















