एक सेनाको अभद्र व्यवहारले सेना जगतलाई नैतिकहिन नबनाओस्

224
– निशा तामाङ

देशको विकास र निर्माणका साथै आपतकालीन घटना र गम्भीर परिस्थितिमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको छ । नेपाली सेनाले हालै मात्र पनि कोरोना भाइरस (कोभिड -१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि क्रियाशील भएर देश र जनताका  लागि कार्य गरिरहेको छ । नेपालका विभिन्न जिल्लामा अत्यावश्यक परेको खण्डमा हरपल तयारीको अवस्थामा तैनाथ छन् । प्रदेश १ को उदयपुर जिल्लामा होस् चाहे पर्सामा होस् आवश्यकता अनुरुप कोरोना भाइरस नियन्त्रणका लागि सेना परिचालन गरिएका छन् ।

काठमाडौंको सडकमा पनि सेना परिचालन गरिएको छ ।देशकै सुरक्षार्थ खटेकाे नेपाली सेनाले हालै मात्र उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरेको जनाएको छ । नेपाली सेनाले सैनिक व्यक्तिहरुको हिडडुलमाथि  निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिनका लागि चेकजाँच गरेको समेत जनाएको छ । यो नेपाली सेनाको राम्रो काम हो । सैनिक पोशाकको बलमा हिंड्ने व्यक्तिलाई नियन्त्रण र कारवाही गर्नै पर्छ । यसअघी नै सर्वसाधारणहरुले सैनिक पोशाक प्रयोग गर्ने र हिंड्न पाउने गृह मन्त्रालयले निर्देशन दिइसकेको थियो ।नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी प्रयोग हुन थालेदेखि नै सरकारले नेपाली सेनासंग मिल्दोजुल्दो कपडा बिक्रीवितरण र प्रयोगमा रोक लगाएको थियो । गृहले सबै स्थानीय प्रशासनलाई उक्त पोशाक लगाउने व्यक्तिलाई पहिलोपटक सम्झाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको थियो ।

हालैमात्र काठमाडौंको सडकमा परिचालित एक सेनाले कालिमाटी नजिकै एक सर्वसाधारणमाथि गरेको अभद्र व्यवहार सर्वत्र चर्चा र विरोधको विषय बनेको छ । नेपाली सेनाभित्र रहेका आफ्नो दायित्व र कर्तव्य के हो भन्ने बिर्सिनेहरुका कारण बेला बेला नेपाली सेनाको विरोध हुने गरेको छ । सेनाका यस्ता नैतिकहिन दुर्वव्यवहारले सम्पुर्ण सेनाप्रति  नराम्रो दृष्टिकोण देखा परिरहेको छ ।  अपत्यकामा सेना परिचालन गरेर सुरक्षा दिन खोजेको सेनाको यति राम्रो काम एउटा  सेनाको अभद्र व्यवहारले गलत साबित बनाइदिएको छ । धेरैले सेना परिचालन जरुरी नभएको समेत विश्लेषण गरिरहेका छन् । नियन्त्रणको नाममा सेनाले नागरिकमाथि अभद्र व्यवहार भने गर्नु हुँदैन । अत्यावश्यक काम परेर हिंडेका व्यक्तिलाई सैनिक पोशाक लगाएकै भरमा त्यतीसम्मको अभद्र व्यवहार गर्नु आवश्यक थिएन।

बाढी पहिरोका कारण जोखिम रहेको क्षेत्र हरेक वर्ष जनजीवन सुरक्षाका लागि लाग्ने नेपाली सेनाले गत वर्ष मात्रै बारामा आएको हावाहुरीका कारण घरवार विहिनलाई आवास निर्माण गरेको थियो ।अहिले महत्त्वपूर्ण विषय बनेको सिमा अतिक्रमणका क्षेत्रमा पनि नेपाली सेना परिचालन गर्ने तयारी थालिसकेको समेत छ ।

नेपाली सेनाले देश विकास र शान्तिका निम्ति गरेको गौरवपूर्ण कार्यको विश्वका विभिन्न मुलुकमा सधै चर्चा भइरहेको सुन्न र पढ्न पाइन्छ । नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन १७४४ मा कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रूपमा चिनिन थालेको इतिहासविदहरूले लेखेको पाइन्छ । शाही सेना २०६३ साल जेठ ४ गतेको तत्कालीन पुर्नस्थापित प्रतिनिधिसभाको घोषणाबाट नाम परिवर्तन गरी नेपाली सेना बनाइएको हो । नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका बेलामा विकास निर्माणमा परिचालित भएका छन् । सेनाले बनाएका सडकहरू देशका विकट पहाडी क्षेत्रमा भरपर्दाे मानिएका छन् । यसका साथै राष्ट्रिय सम्पत्तिका रूपमा रहेका विद्युत, टेलिफोन स्टेशन, ऐतिहासिक गढी दरवार, राष्ट्रिय निकुन्जहरूको सुरक्षा सेनाले गर्दै आएको छ । यसबाहेक प्राकृतिक बिपत्तिहरूमा नेपाली सेना चौबिसै घण्टा जनताको रक्षार्थ खटिएको छ ।

नेपाली सेना जनताको सुरक्षार्थदेखि जंगललगायत प्राकृतिक स्रोतसाधन र वन्यजन्तु तस्करी नियन्त्रण र संरक्षणमा महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको छ । सेनाको भुमिका देशको लागि सदैव महत्त्वपूर्ण हुँदै आइरहेको छ । यस्तो अवस्थामा सेना भित्र रहेका केही नैतिकहिन सेनाहरुको व्यवहार सुधार्न सके अझ बढी राम्रो हुन सक्ने थियो । लकडाउन भैरहेको अवस्थामा पनि सामान्य अवस्था जस्तै गरेर हिंड्ने जो कोहिलाई पनि नियन्त्रण गर्नै पर्छ । अहिलेको अवस्थामा गर्न आवश्यक पनि छ । तर अत्यावश्यक रुपमा हिंडेका समान्य मानिसलाई अभद्र व्यवहार गर्नुले सेनाको नैतिकतामा प्रश्न उठाइदिएको छ भने नागरिकले कर्तव्यबोध गर्ने बेला समेत आएको छ । सरकारले निर्देशन दिएपछि नागरिकहरु जिम्मेवार हुनुपर्दछ । सरकारले सैनिक पोशाकको दुरुपयोग बढेको र सैनिक पोशाक प्रयोग गरेर अपराधिक गतिविधि हुने गरेको घटनाका कारण सैनिक पोशाक प्रयोग नगर्नु भनेर निर्देशन दिइसकेको अवस्थामा सो निर्देशनको विपरीत अटेर गरेर प्रयोग गर्नु नागरिकको पनि ठुलो गल्ती हो । यसबारे नागरिकहरु पनि सचेत भएर जिम्मेवारबोध हुन जरुरी छ । नेपाली जनताका लागि नेपाली सेना सधै आवश्यक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here