सुनको भन्सार शुल्क बढ्यो, यस्तो छ नयाँ नियम

359

काठमाडाैं – विदेशबाट आउँदा ल्याउने सुनको विमानस्थलमा तिर्नुपर्ने भन्सार शुलक बढेको छ । सरकारले आर्थिक वर्ष २०७७,७८ को बजेटले सुन तथा गरगहना आयातमा लाग्ने भन्सार शुल्क बढाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सारको नयाँ सूची निकालेको छ ।

विदेशबाट फर्कनेले साथमा एकसय ग्रामसम्म सुन ल्याउन पाउनेछन् । तर पहिलो ५० ग्रामसम्मको सुनलाई प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ भन्सार महसुल तिर्नुपर्नेछ । ५० ग्रामभन्दा बढी थप ५० ग्राममा भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार महसुल तिर्नुपर्छ ।

यसअघिकै व्यवस्था अनुसार विदेशबाट फर्किँदा सुनका गहना ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ । तर त्योभन्दा बढी अधिकतम दुई सय ५० ग्रामसम्म भन्सार तिरेर गहना ल्याउन सकिने व्यवस्था गरिएको छ । यात्रुले ल्याएको ५० ग्रामसम्मको गहनालाई विमानस्थल भन्सारले सिधै पास गर्नेछ । ५० ग्रामदेखि माथि एकसय ग्रामसम्मको गहनालाई प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ ।

एकसय ग्रामभन्दा माथि थप एकसय ग्रामको सुनको गहनालाई भने प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर साथमा ल्याउन सकिनेछ । तोकिएको परिणामभन्दा बढी ल्याएको सुन भने भन्सारले जफत गर्ने भन्सार विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने ५० ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजानेगरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी गहनाको मूल्यमा २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने भन्सार कार्यालयले जनाएको छ ।

त्यसरी ल्याएको गहना यात्रु फर्कंदा भन्सार बिन्दुमा परीक्षण गराई राखेको धरौटी फिर्ता लैजान सक्नेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here